राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ।
अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक राखेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने पनि मंगलबार धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले निर्णय गरेको हो।
राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति सोमबार गठन भएको थियो। उक्त समितिमा अध्यक्ष लिङ्देनलाई पनि सदस्य राखिएको थियो भने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव थिए।
यो समितिमा आफू सदस्य नबस्ने लिङ्देनले सोमबार नै बताएका थिए।
अध्यक्ष लिङ्देनले राप्रपाले पूर्वनिर्धारित आन्दोलनलाई निरन्तरता दिने बताए। ‘चैत १२ गते आन्दोलन परिचालन मूल समिति बैठक गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग लिङ्देनले भने, ‘पार्टीका सबै गतिविधि अब आन्दोलनकेन्द्रित गरेर जान्छौं। अबको आन्दोलन काठमाडौं उपत्यकाकेन्द्रित रहनेछ।’
उनले आन्दोलनमा साथ दिन समान विचार राख्ने राजनीतिक दलहरू, समूह वा व्यक्तिहरूलाई पनि आह्वान गरेका छन्।
उनले नवराज सुवेदी नेतृत्वको समितिमा आफूलाई जानकारीबिनै नाम राखिएकोले आपत्ति जनाएको र उक्त समितिमा नबस्ने बताएको उल्लेख गरे।
तर राजसंस्थाका पक्षमा हुने यस्ता गतिविधिले आफूहरूलाई खुसी नै बनाउने उनको भनाइ थियो।
‘भोलि कमल थापा, दुर्गा प्रसाईंलगायतले पनि समिति बनाउनु होला, त्यहाँ नाम रहला, नरहला, छलफलमा बोलाइएला वा नबोलाइएला, त्यस्ता समितिलाई नपत्याएको भन्ने हुँदैन,’ उनले भने, ‘नवराज सुवेदी संयोजक रहेको समिति गठन गर्दा मलाई जानकारी दिइएन। निर्णय प्रक्रियामा हामी सहभागी पनि छैनौं।’
उनले पार्टीको आन्दोलन परिचालन मूल समिति संयोजक आफू रहेको र अब निर्णायक बाटोतर्फ लैजाने गरी आन्दोलन गरिने पनि बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रस्तावअनुसार नवराज सुवेदीलाई संयोजक बनाइएको र उक्त समितिमा नबस्ने भनेर अभिव्यक्ति दिएकोबारे सोधिएको प्रश्नमा लिङ्देनले भने, ‘नवराज सुवेदीलाई राजाले अघि सारेको चिठीपत्र, अडिओ, भिडिओ केही छ र?’
यस्ता छन् निर्णय:
