नेपाली कांग्रेसले प्राप्त उपलब्धि र संविधान रक्षाका लागि सम्पूर्ण रूपले क्रियाशील रहने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकले संविधान रक्षाका लागि क्रियाशील रहने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘उपलब्धिको रक्षा गर्ने कुरा हो, यसमा कुनै द्विविधा पनि छैन। चैत १० गतेको कार्यसम्पादन समितिबाट यसबारे थप समीक्षा हुनेछ,’ प्रवक्ता महतले भने, ‘समग्रमा निर्वाचित जनप्रतिनिधिहरूले नै शासन गर्ने हो, आएको व्यवस्थाको रक्षा गर्ने हो।’
प्रवक्ता महतका अनुसार सरकारका जनअपेक्षा पूरा गर्ने जिम्मेवारी सरकारको हो। सरकारले कमीकमजोरी सुधार गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने उनले बताए।
उनले सर्वदलीय सहमतिका सरकार वा नयाँ सरकार बनाउने विषयमा कुनै पनि छलफल नभएको बताए। कोही सरकारमा आउँदा सरकार बलियो हुने र नआउँदा कमजोर हुने अवस्था नरहेको महतले बताए।
उनले माओवादीलाई समेटेर सर्वदलीय सरकार बनाउनेबारे पार्टीभित्र छलफल नै नभएको बताएका छन्।