युक्रेनसँग जारी युद्ध ३० दिन रोक्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग केहीबेरपछि टेलिफोनमा कुराकानी गर्ने भएका छन्।
युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा किभ सहमत भए पनि रूसले अहिलेसम्म सहमति दिएको छैन। प्रस्तावित ३० दिने युद्धविरामलाई रूसले युक्रेनी सेनाको लागि 'अस्थायी सास फेर्ने अवसर' मात्र भनेर टिप्पणी गरेको छ।
त्यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कोफ मस्को गएर पुटिनसँग लामो कुराकानी गरिसकेका छन्। त्यसपछि ट्रम्प र पुटिनले आज फोनमा कुराकानी गर्न लागेका हुन्।
पुटिनले ३० दिनको अस्थायी युद्धविराम गर्ने अमेरिकी प्रस्ताव नमाने रूसमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पले धम्की दिएका छन्। बैंकिङ प्रतिबन्ध, भन्सार शुल्क लगायत विषयमा आफूले सोचिरहेको उनले बताएका छन्। तर रूस भने अस्थायी युद्धविरामका लागि तयार देखिँदैन।
त्यसैले ट्रम्पलाई खुसी पार्न फोन कुराकानीअघि पुटिनले पश्चिमी सम्पत्ति व्यवस्थापक (एसेट मेनेजर) र हेज फन्डहरूको एक समूहलाई रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण अनिश्चिततामा रहेका रूसी धितोपत्र बिक्री गर्न अनुमति दिएका छन्।
जेन स्ट्रिट, जिएमओ र फ्र्याङ्कलिन टेम्पलटन जस्ता लगानीकर्ताको रूसी कम्पनीमा रहेको सेयर अमेरिकी हेज फन्ड ६८३ क्यापिटल पार्टनर्सलाई बिक्री गर्न पुटिनले सोमबार एक आदेश जारी गरेर अनुमति दिएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
उक्त हेज फन्डले त्यसपछि पुटिनको थप अनुमति बिना नै दुई रूसी लगानी कोषहरूसँग कारोबार गर्न स्वतन्त्र हुने आदेशमा उल्लेख छ।
रूसले २०२२ मा युक्रेनमाथि आक्रमण सुरू गरेपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले रूसमाथि आर्थिक नाकाबन्दी लगाएका थिए।
जबाफमा पुटिनले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई रूसी बैंक र ऊर्जा कम्पनीहरूको सेयर वा ऋणपत्रमा कारोबार गर्न प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए। त्यस्ता कुनै पनि कारोबारका लागि रूसी अधिकारीहरूको स्वीकृति आवश्यक थियो।
त्यसपछि रूसले बिक्रीमा लगाएको प्रतिबन्ध र रूसमाथिको नाकाबन्दीका कारण रूसमा सेयर लगानी गरेका पश्चिमा कम्पनीहरूको सम्पत्ति मूल्यहीनको जस्तै भएको थिए। पुटिनको निर्णयपछि अब उनीहरूले ती सम्पत्ति बेच्न पाउनेछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)