चितवनको सहिद स्मारक क्याम्पसले एउटामात्रै विद्यार्थी संगठनको प्रतिनिधि राखेर स्ववियु निर्वाचनको परिणाम घोषणा गरेको छ।
अनेरास्ववियुको विरोधका बाबजुद उक्त क्याम्पसले नेपाल विद्यार्थी संघको मात्रै प्रतिनिधि राखेर मतदान अघि बढाएको हो।
यस क्याम्पसमा निर्वाचनको लागि नेविसंघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी संगठन दर्ता भएका थिए। नेविसंघ र अनेरास्ववियुले प्यानलै र समाजवादीले तीन जना मात्रै उम्मेदवार खडा गरेका थिए।
पब्लिक क्याम्पस संघ चितवनले निर्वाचनको वातावरण नभएको भन्दै सबै पब्लिक क्याम्पसहरूमा निर्वाचन स्थगित गर्दा पनि सहिद स्मारक क्याम्पसले निर्वाचनअघि बढाएपछि अनेरास्ववियुले विरोध गरेको थियो। तर क्याम्पसले सबै उम्मेदवारसँग मतदानपूर्व गर्नुपर्ने आवश्यक छलफल नगरी मतपेटिकाको मुचुल्का समेत नउठाई एकलौटी ढंगले मतदान प्रक्रिया सुरू गरेको आरोप अनेरास्ववियुको छ।
अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले सबै संगठनका प्रतिनिधिहरूलाई नराखिकन गरिएको मतदान प्रक्रिया स्वीकार्य नहुने बताए।
पब्लिक क्याम्पस संघ र विद्यार्थी संगठनहरूका बीचमा आपसी सहमतिमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएकोमा सहिद स्मारक क्याम्पसले नेविसंघका प्रतिनिधि मात्रै राखेर मतदान सुरू गर्नु आपत्तिजनक भएको उनले बताए।
उक्त क्याम्पसका क्याम्पस प्रमुख वसन्तकुमार पौडेलले मतदानमा नेविसंघका तर्फबाट मात्रै प्रतिनिधि रहेको स्वीकार गरे।
उनले कुनै अवरोध नभएकाले निर्वाचन प्रक्रिया अघि बढाएको दाबी गरे।
पब्लिक क्याम्पस संघ चितवनले जिल्लामा सर्वसम्मत भएको एक बाहेक अन्य पब्लिक क्याम्पसमा निर्वाचन गर्ने वातावरण नभएको भन्दै निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।
संघका सचिव खिमलाल दाहालले विद्यार्थी संगठनहरूले उठाएका मागहरू पूरा गर्न नसकेकाले निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
‘सबैतिर समस्या छ भनेर हामीले स्थगनको निर्णय गरेका थियौं। तर बैठकमा सहिद स्मारक क्याम्पसका प्रतिनिधि आउनुभएको रहेनछ। उहाँहरूले निर्वाचन गराउन सकिन्छ भनेर गराउनुभयो होला,’ दाहालले भने, ‘हामीलाई जिल्लाका सबै पब्लिक क्याम्पसहरूमा तालाबन्दी भएकाले निर्वाचन गराउन सकिँदैन भन्ने जानकारी आएको थियो।’
अनेरास्ववियुका जिल्ला अध्यक्ष आचार्यले विज्ञप्ति जारी गर्दै पब्लिक क्याम्पस संघबाट स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय भएपछि अनेरास्ववियुसँग समन्वय नगरी एकलौटी रूपमा निर्वाचन अघि बढाइएको बताएका छन्।
उक्त निर्वाचन प्रक्रिया अनेरास्ववियुलाई मान्य नहुने भन्दै निर्वाचन प्रक्रिया स्थगित नगरे संघर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ।
सहिद स्मारक कलेजमा ३३९ जना मतदाता रहेकोमा १३९ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ।
निर्वाचन समितिले १३३ मत ल्याएका नेविसंघका अनिष थापा मगरलाई स्ववियु अध्यक्ष घोषणा गरिसकेको छ।
मंगलबार चितवनको रामपुरस्थित त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसमा पनि निर्वाचन भएको छ।
पूर्वी चितवनको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो। जिल्लाका २ आंगिक र १३ वटा पब्लिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन।