परराष्ट्र मन्त्री आरजु राणा देउवा र युक्रेनका विदेश मन्त्री एन्द्री सिबिहाबीच भेटवार्ता भएको छ।
उनीहरूबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको हो।
भेटका क्रममा नेपाल-युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरूमा कुराकानी भएको थियो।
त्यस अवसरमा मन्त्री राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात जना नेपाली नागरिकको रिहाइका लागि युक्रेन सरकारसँग आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करमार्फत् नेपालीहरूलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री राणाले रुसी सेनामा कार्यरत रहेका ती सात जना नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गरेकी हुन्।
उनीहरूलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रूसी सेनामा भर्ना गरिएको सूचना सरकारले पाएको जानकारी दिँदै उनले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेश मन्त्रीसँग आग्रह गरेकी हुन्।
त्यस भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटका क्रममा मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य लगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह गरेकी थिइन्।
यसैबीच यस भेटका क्रममा दुई देशका बीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।