राप्रपाको मूलधार त्यागेर एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान चलाइरहेका केशरबहादुर विष्टले आफू राजसंस्था पुनर्स्थापना गर्न गठित समितिमा नबस्ने बताएका छन्।
राजसंस्था पुनर्स्थापनालगायत एजेन्डासहित सोमबार संयुक्त जनआन्दोलन समिति गठन भएको थियो। समितिमा विष्टलाई सदस्य राखिएको थियो।
तर विष्टले आफू कुनै पनि पदमा नबस्ने बताएका हुन्।
‘राजाले श्रीपेच र गद्दी त त्यागे, राजा फर्काउने आन्दोलनमा म पदमा बस्न पर्दैन, पदमा नबसे पनि मद्दत गर्छु भनेर भनिदिएको छु,’ विष्टले सेतोपाटीसँग भने, ‘थप सल्लाह गर्दै जाऊँला, अहिले अरूलाई नै राख्नुहोस्।’
उनले राजसंस्था फिर्ता ल्याउनेबारे बेग्लै अभियान सञ्चालन भने नगर्ने बताए। ‘म अहिले अलग्लै अभियान भने चलाउँदिनँ,’ उनले भने, ‘तपाईंहरू अरू व्यक्तिहरू नै राखेर आन्दोलन गर्नुस्, मेरो समर्थन रहन्छ।’
नवराज सुवेदीको संयोजकत्वमा सोमबार राजसंस्था पुनर्स्थापना गर्न समिति गठन भएको थियो।
यो पनि: राजसंस्था पुनर्स्थापना गर्न संयुक्त जनआन्दोलन समिति गठन