नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरूले अझै पनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरूले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका हुन्।
उनले कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै यसलाई जनताप्रति थप उत्तरदायी बनाउन आवश्यक रहेको बताए।
उनले मुलुक संघीयतामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ—आफ्नै अधिकारप्राप्त गरेको भए पनि संघीयता सुदृढीकरण आवश्यक रहेको बताए।
संघीयताको सफल कार्यान्वयनको लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक रहेको समेत सभापति देउवाको भनाइ छ।
मुलुकमा संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको समेत उल्लेख गरे।
उनले भने, ‘संघीयतालाई अझै प्रभावकारी बनाउने र जबाफदेही बनाउने कुरा आवश्यक छ। संघीयतालाई अझै कति मानिसले स्वीकार गरेका छैनन्। कतिले मन नपराई नपराई स्वीकार गरेका छन्। त्यसकारण संघीयता आइसक्यो यो फर्किने कुरा छैन। यसलाई अझै बढी नेपाली जनताका प्रति उत्तरदायी किसिमले जनताको सुखदुःखमा साथ दिने किसिमको संघीयता बनाउन आवश्यक छ। त्यसको लागि तुरून्तै हुन्छ भन्ने छैन हेर्नुहोस्। समय लाग्न सक्छ। प्रदेशको आफ्नै भूमिका छ, आफ्नो अधिकार खोजिराखेको छ। संघको पनि आफ्नै अधिकार छ। त्यसकारण यसमा सबै पार्टीका साथीहरू बसेर संघीयताको प्रभावकारी कार्यान्वयनको लागि छलफल गर्नु आवश्यक छ। आफ्नो अधिकार माग्नु स्वाभाविक कुरा हो। तर हामीले मुलुकको आर्थिक अवस्थालाई हेरेर पनि कतिपय कामहरू गर्नुपर्ने हुन्छ।’
उनले मुलुकको सम्प्रदायिक एकतालाई खल्बल्याउने काम भइरहेको भन्दै यसकाविरूद्ध सबै एकजुट हुन समेत आग्रह गरे।—न्युज एजेन्सी नेपाल