राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कार्यबाहक सभापति अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिहरू ठगिएको, समस्या परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको भन्दै यस्तो ध्यानाकर्षण गराए।
उनले युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार उल्लेख गरे।
मेनपावर कम्पनीहरूले श्रमिकहरूलाई भनेअनुसारको सेवा सुविधा नदिने र गुनासो गर्दा धम्क्याउने गरेको समेत बताए।
उनले मुलुक रेमिट्यान्सले चलिरहेको अवस्थामा श्रमिकहरूलाई सम्झौताअनुसारको सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेनपावर कम्पनीहरूलाई कानूनी दायरामा ल्याउन समेत माग गरे।
उनले भने, ‘विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले टेको दिएको विदितै छ। तर उनीहरूको पीडा भने हामीले बुझ्न सकेका छैनौं। दैनिकजसो मेरो सचिवालयमा ठगिएको, समस्या परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गर्ने गरेको गुनासो आउने गरेको छ। हालै युएई र मलेसियाको सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार नपाएको गुनासो हामीमाझ गर्नुभएको छ। यता मेनपावरले मोटो रकम असुल्ने र भनेजस्तो काम नदिएको गर्दा श्रमिकहरूलाई थर्काउने र धम्क्याउने गरेको उनीहरू बताउँछन्। त्यसैले नेपाली श्रमिकहरूको अवस्था बुझेर सम्झौताअनुसारकै सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेनपावर कम्पनीहरूलाई कानूनी दायरामा ल्याउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले वर्षातको समय नजिकिएकाले बाढीको जोखिम भएका नदीहरूमा तटबन्धको व्यवस्था गर्न समेत माग गरे। —न्युज एजेन्सी नेपाल