नेपाल विद्यार्थी संघले पद्मकन्या क्याम्पस स्ववियु चुनावका लागि भूपेश्वरी ऐर (भूपी) नेतृत्वको टिमलाई आधिकारिकता दिएको छ।
सोमबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ऐर नेतृत्वको समूहलाई आधिकारिकता दिएका हुन्।
निर्वाचन अधिकृतलाई पत्र पठाउँदै अध्यक्ष शेर्पाले नेविसंघको आधिकारिक समर्थन ऐर नेतृत्वको समूहका उम्मेदवारलाई भएको खुलाएका छन्।
मंगलबार स्ववियु चुनाव हुँदैछ। पद्मकन्यामा नेविसंघबाट ऐर र पूर्णिमाया परियारले सभापतिमा उम्मेदवारी दिएका थिए। ऐर महामन्त्री गगन थापानिकट हुन् भने परियार सभापति शेरबहादुर देउवानिकट हुन्।
पद्मकन्या क्याम्पसकी स्ववियु सभापति ज्योति पनेरूले नेविसंघबाट पद्मकन्याको स्ववियु चुनावमा एक जनाको मात्र उम्मेदवारी परेको र स्वतन्त्र समूहलाई नेविसंघले समर्थन गर्न नमिल्ने बताएकी छन्।
‘नेविसंघबाट स्वतन्त्र समूहलाई आधिकारिकता दिइयो भन्ने फेक पत्र बनाइएको रहेछ,’ उनले भनिन्, ‘पद्मकन्यामा नेविसंघबाट एक जनाको मात्र उम्मेदवारी परेको छ, आधिकारिक त्यही हो नि!’
