अमेरिकाले यमनमा हुथी विद्रोहीले 'घुँडा नटेकेसम्म' आक्रमण जारी राख्ने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पको आदेशपछि शनिबारदेखि अमेरिकी सेनाले यमनमा हुथी लक्षित आक्रमण गरिरहेको छ। अमेरिकाले त्यसलाई सैनिक कारबाही भनेको छ।
आक्रमणबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको हुथीको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आइतबार फक्स न्युजको अन्तर्वार्तामा रेड सीमा अमेरिकी जहाजहरूमा बमबारी गर्दैनौं भनेर घुँडा नटेकेसम्म आक्रमण जारी राख्ने बताएका हुन्।
'हुथीले हामी अबदेखि तपाईंहरूको जहाजमा बमबारी गर्दैनौं, तपाईंका ड्रोनमाथि हमला गर्दैनौं भनेको एक मिनेटमै अमेरिकाले कारबाही रोक्छ। होइन भने यो जारी रहन्छ,' हेगसेथले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भनेका छन्।'
इसराइल-हमास युद्धपछि नोभेम्बरयता हुथी विद्रोहीले ‘रेड सी’मा अमेरिकी र इसराइली पानीजहाजहरूलाई लक्ष्य गरेर ड्रोन र हवाइ हमला गर्दै आएको छ।
यसअघि जो बाइडेनको पालामा पनि अमेरिकाले युरोपेली मुलुकहरूसँग मिलेर रेड सी मा हुथी लक्षित कारबाही चलाएको थियो।
शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीका कारण पारवाहनमा समस्या भएको र यसले अमेरिका लगायत यसका सहयोगी देशहरूलाई अर्बौं डलरको घाटा परेको भन्दै कारबाही थालिएको बताएका थिए।
उनले हुथी पछि नहटे यसपालि उनीहरूमाथि नर्क बर्सिनेछ भनेर चेतावनी पनि दिएका थिए।
समाचार संस्था रोयटर्सले कम्तिमा यो साता अमेरिकाले यमनमा हुथी लक्षित कारबाही जारी राख्ने भनेको छ। यसलाई ट्रप्पको पालाकै सबैभन्दा ठूलो सैन्य कारबाही भनिएको छ।
"यो त्यो महत्वपूर्ण जलमार्गमा सम्पत्तिमाथि गोलीबारी रोक्नका लागि हो। जलयात्राको स्वतन्त्रता पुन: खोल्नको लागि हो, जुन संयुक्त राज्य अमेरिकाको मुख्य राष्ट्रिय हित हो, र इरानले धेरै लामो समयदेखि हुथीहरूलाई प्रयोग गरी बाधा पुर्याइरहेको छ,' हेगसेथले भने,' उनीहरूलाई अब पछि हट्नुमा नै भलाइ छ।'
अघिल्लो साता इसराइलले मानवीय सहायता लिएर गएका गाडीहरूलाई गजा प्रवेश गर्न नदिएपछि हुथीले रेड सीमा आक्रमण फेरि सुरू गर्ने धम्की दिएको थियो। उसले प्यालेस्टिनीहरूको पक्षमा ऐक्यबद्धता जनाउन रेड सीमा आक्रमण गरिएको बताउँदै आएको छ।
अमेरिकाले शनिबार यमनको राजधानी लगायतका क्षेत्रमा आक्रमण गरी ३१ जना मारेपछि हुथीको राजीनितिक विभागले त्यसलाई युद्ध अपराध भनेको छ।
हुथी नेता अब्दुल मलिक अल हुथीले अमेरिकाले आक्रमण नरोके आफूहरू पनि रेड सीमा आक्रमण जारी राख्ने बताए।
'उनीहरू जबसम्म यमनमा आक्रमण गरिरहन्छन् तबसम्म हामी पनि रेड सीमा आक्रमण गर्न छाड्दैनौं। उनीहरू जति आक्रामक हुन्छन् हामी पनि त्यति नै आक्रामक हुन्छौं,' एक टिभी अन्तर्वार्तामा उनले भनेको भनेर रोयटर्सले लेखेको छ।
आइतबार रेड सीमा अमेरिकी फाइटर विमानलाई लक्ष्य गरेर हुथी समूहले हवाइ आक्रमण गरेको थियो। अमेरिकी युद्धविमानले हुथीका ११ ड्रोन खसालेको थियो।
इरानले अमेरिकी आक्रमणबारे निर्णय गर्न हुथी स्वतन्त्र रहेको बताएको छ। इरानी रिभोलुसनरी गार्डका कमाण्डर हुसेन सलामीले ट्रम्पले धम्की दिएजस्तै एक्सनमा उत्रिए इरान पनि त्यसको निर्णायक जवाफ फर्काउन तयार रहेको बताए।
'हामी हाम्रो दुस्मनलाई यो चेतावनी दिन्छौं कि इरानले दिने जबाफ पनि निर्णायक र विनाशकारी हुनेछ,' उनले भने।
ट्रम्पले यसपटक इरानसँग पनि नरम हुन नसक्ने चेतावनी दिएका छन्।
'यदी इरान अमेरिकालाई धम्की दिन्छ भने त्यसको जबाफदेहीता उनीहरू नै हुनेछन् र अमेरिका यसपटक नरम हुन सक्दैन,' ट्रम्पले भनेका छन्।
रूसले पनि अमेरिकालाई यमनमा आक्रमण रोक्न सुझाव दिएको भनेर रोयटर्सले लेखेको छ।
रूसी विदेशमन्त्री सर्गेई लाव्रोभले अमेरिकी समकक्षी मार्को रूबिओलाई राजनीतिक वार्ताका माध्यबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।
को हुन् हुथी?
हुथीहरू यमनमा रहेका शिया इस्लामको जैदी शाखाका हुन्। आफूलाई अन्सार अल्लाह (भगवानका समर्थक) भन्ने उनीहरूले सन् १९९० को दशकमा छिमेकी साउदी अरेबियाको सुन्नी वहाबी धर्म विस्तारको प्रतिरोध गर्न, र जैदी पहिचानका लागि आन्दोलन सुरू गरे। उत्तरी यमन र दक्षिणी साउदी अरेबियाका केही भागमा रहेका जैदीहरू शियाहरू भन्दा केही अलग छन्। उदाहरणका लागि शियाहरूले १२ इमामहरूलाई मान्छन् भने जैदीहरूले केवल पाँच इमामहरूलाई मान्छन्।
उनीहरूले विस्तारै तत्कालिन यमनी राष्ट्रपति अलि अबदुल्लाह सालेहको भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्न थाले। सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरे पछि सालेह सरकारले त्यसको समर्थन गरेपनि उनीहरूले विरोध गर्थे।
इराकमा बहुमत शियालाई शासन गर्ने सुन्नी सद्दाम हुसेनको सरकार र इरानको दुश्मनी थियो। त्यस अर्थमा त्यतिबेला उनीहरू र इरान विपरित कित्तामा थिए।
त्यतिबेलासम्म उनीहरूको आन्दोलन हिंसात्मक भइसकेको थियो। त्यो समयमा आन्दोलनको नेतृत्व हुसेन अल हुथीले गर्थे। सन् २००४मा यमन सरकारले उनको हत्या गरे पछि उनीहरूले आफूलाई हुथी भन्न थाले। अहिले यो समूहको नेता अब्दुल मलिक अल हुथी हुन्।
विस्तारै अमेरिका, साउदी अरेबिया र इसराइल विरूद्धको साझा दुश्मनीका कारण उनीहरू इरानसँग नजिक भए।
सन् २०११ को अरब स्प्रिङको बेला सालेहको सरकार ढल्यो र उनका उपराष्ट्रपति अब्द-राबु मन्सुर हादी राष्ट्रपति बने। त्यसपछि संक्रमणकालमा यमनलाई प्रजातन्त्रतर्फ गरिएको वार्ता सन् २०१३-२०१४ मा टुटेपछि हुथीले सेप्टेम्बर २०१४ मा यमनको राजधानी सानालाई कब्जा गर्यो। त्यसपछि देशको अधिकांश भाग कब्जा गर्दै, दक्षिणमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरे। सन् २०१५को जनवरीमा हुथीले हादीलाई राजीनामा दिन बाध्य बनाए र हादी भागेर सउदी गए।
त्यसपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई)ले मिलेर हुथीमाथि आक्रमण गरे। सो आक्रमणमा अमेरिका, बेलायत, फ्रान्स लगायत पश्चिमा राष्ट्रको समर्थन थियो। तर पनि इरानको हातहतियारको भरमा लडेका हुथीलाई परास्त गर्न सकेनन्। पहिल्यै देखि छिमेकीभन्दा तुलनात्मक रूपमा गरिब यमन युद्धका कारण ध्वस्त भयो। संयुक्त राष्ट्रसंघले यमनमा संसारको सबैभन्दा कहालीलाग्दो मानवीय संकट भएको घोषणा गर्यो। त्यहाँका दुई-तिहाइ भन्दा धेरै जनतालाई मानवीय सहायता चाहिन्छ भन्यो।
गत अप्रिलमा त्यहाँ संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्ध बिराम भयो। अक्टोबरमा युद्ध बिरामको अन्त्य भएपनि त्यसपछि पनि त्यहाँ हिंसा भड्किएको छैन।