प्रतिनिधि सभाको आइतबारको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्त बोले।
तथ्य, तर्क र यथार्थमा उभिएर राजनीति गरे दिगो हुने भन्दै कुरा सुरू गरेका पन्तले तत्कालीन राजा वीरेन्द्र शाहको भारत भ्रमणका कुरा पनि निकाले।
त्यसपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाही उठे, आपत्ति जनाए। बोल्न (प्रतिवाद) का लागि सभामुख देवराज घिमिरेसँग समय दिन माग गरे। तर सभामुख घिमिरेले कुन विषयमा नियमापत्ति हो खुलाउन भने र समय दिएनन्।
राप्रपा प्रमुख सचेतकसमेत रहेका शाहीले गलत इतिहास नभन्न आग्रह गरेका थिए। जबाफमा पन्तले आफूसँग बहस गर्नुअघि इतिहास पढेर आउन भन्दै कटाक्ष गरे।
यहाँ हामीले एमाले सांसद पन्त र राप्रपा सांसद शाहीले प्रतिनिधि सभामा बोलेका कुरा जस्ताको तेस्तै राखेका छौं;
रघुजी पन्त;
सभामुख महोदय,
राजनीति तथ्यमा, तर्कमा र यथार्थमा उभिएर गर्ने हो भने त्यो टिकाउ हुन्छ। भ्रमको खेतीले केही समय मानिसलाई झुक्याउन सकिएला, निराशाको खेतीले मानिसलाई केही समय अलमलमा पार्न सकिएला तर सधैं अलमलमा पार्न सकिँदैन, झुक्याउन सकिँदैन।
अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रूपमा चलेको छ। त्यसको लागि कतिपय सञ्चारमाध्यममा घुसपैठ गर्ने र खासगरी फेसबुकजस्ता डिजिटल सञ्चारमाध्ममलाई उपयोग गर्ने चलन चलेको छ।
म केही तथ्याङ्क राख्न चाहन्छु। केही महिनाअघि सेयरकास्ट इनिसिएटिभले नेपालका ५२ जिल्लाका १ सय ९६ गाउँ/नगर र महानगरपालिकाका ३ हजार मानिससँग कुरा गरेर सर्वेक्षण तयार पारेको थियो। सो सर्वेक्षणमा जीवनस्तर, राज्यको सेवा सेवा प्रवाह, भ्रष्टाचार र राजनीति लगायतका विषयमा नेपालीहरूले आफ्नो विचारहरू व्यक्त गरेका थिए।
सर्वेक्षणमा कुराकानी गर्ने ५७ प्रतिशत मान्छेले आफ्नो जीवनस्तर पछिल्लो पाँच वर्षमा धेरै वा केही सुधार भएको बताएका छन्। २७ प्रतिशतले उस्तै छ र १५ प्रतिशतले खस्किएको बताएका छन्। अर्थात् देशको बहुसंख्यक जनताले जीवनमा परिवर्तन आएको, आर्थिक स्तर सुध्रिएको र आफू अगाडि बढेको आमरूपमा भनेका छन्। संसारमा सर्भे यसैगरी गरिन्छ। ्
सभामुख महोदय,
सर्वेक्षणमा कुराकानी गर्ने मानिसहरूले ‘मुलुकको अवस्था कस्तो छ’ भन्ने प्रश्नमा ५० प्रतिशतभन्दा ‘धेरैले अलि राम्रो र धेरै राम्रो’ भनेका छन्। २४ प्रतिशतले उस्तै छ भनेका छन् भने बिग्रिएको छ भन्ने २४ प्रतिशत छन्। यो तथ्याङ्क देशव्यापी रुपमा गरिएको सर्वेक्षणको परिणाम हो।
अब आउनुस् राजतन्त्र र गणतन्त्रकालको तुलना गरौं। राजा हुँदा र राजा नहुँदाको।
सन् २००८ मे २८ अर्थात् २०६५ जेठ १५ गते मुलुकमा गणतन्त्र घोषणा भयो। गणतन्त्र आएपछि मुलुक झन् बिग्रियो भन्नेहरूले तथ्य र तथ्यांकमा यथार्थ हेर्न जरूरी छ। विश्व बैंकले गरेको पिपिपी ‘पर्चेजिङ पावर प्यारेटी’का आधारमा केही तथ्य हेरौं।
सन् २००८ मा नेपालको प्रतिव्यक्ति आय प्रतिवर्ष १९ सय ४२ डलर थियो। गणतन्त्रको १५ वर्षपछि सन् २०२३ नेपालीको प्रतिव्यक्ति आय ५ हजार ९ सय ९४ अमेरिकी डलर पुगेको छ। अर्थात् नेपालीको आय यो अवधिमा २ दशमवल ८ गुणा अर्थात् झण्डै तीन गुणाले बढेको छ।
अब दक्षिण एसियाको तुलना गरेर हेरौं।
भारतको सन् २००८ मा प्रतिव्यक्ति आय प्रतिवर्ष ६ हजार ६ सय ३३ डलर थियो। अहिले १० हजार १ सय ६६ डलर पुगेको छ। उसको २ दशमवल ८ गुणाले बढेको छ।
भुटानको आय ६ हजार ३५ बाट १५ हजार ६४ पुगेको छ। उसको २ दशमवल ५ गुढा बढेको छ।
श्रीलङ्का ७ हजार ३ सय १७ थियो अहिले १४ हजार ४ सय ६१ पुगेको छ। अर्थात् २ गुणा बढेको छ।
बंगलादेश २५ सय ५५ डलर थियो अहिले ९ हजार १ सय ४८ डलर छ। अर्थात् दक्षिण एसियामा सबैभन्दा धेरै ३ दशमवल ६ गुणाले बढ्यो।
पाकिस्तानको ३ हजार ७ सय २१ थियो। अहिले ६ हजार ३७ थियो। अर्थात् १ दशमलव ६ गुणाले बढ्यो। माल्दिभ्स १३ हजार ७ सय ६५ थियो। अहिले २४ हजार ७ सय ३५ अर्थात् १ दशमवल ८ गुणाले बढ्यो।
बंगलादेशलाई दक्षिण एसियाको टाइगर भनिन्थ्यो। उसको ३ दशमवल ६ गुणाले बढ्यो। जबकी नेपाल र भारतको बराबर छ। हामी अहिले भारतले धेरै विकास गर्यो भनेर भन्छौं। तर हामीले हाम्रो र उसको बढेको गुणा हेर्यौं भने बराबर छ।
नेपाल अहिले पनि दक्षिण एसियामा गरिब छ तर राजाको पालामा झन् गरिब थियो। विगत १५ वर्षमा नेपालको प्रतिव्यक्ति आय भारतको बराबर र बंगलादेशको भन्दा कम छ।
तर आर्थिक विकास मात्र महत्त्वपूर्ण कुरा होइन। लोकतन्त्र महत्त्वपूर्ण कुरा हो। ३ दशमवल ६ गुणाले बढेको बंगलादेशमा लोकतन्त्र नहुँदा, प्रेस स्वतन्त्रता खुमच्याउँदा, नागरिकलाई अधिकार नदिँदा विद्यार्थीहरूको नेतृत्वमा आन्दोलन भयो। शेख हसिना वाजेदले देश छाडेर जानुपर्यो। त्यसैले आर्थिक विकासका साथ साथै लोकतन्त्र पनि महत्वपूर्ण छ भन्ने बंगलादेशको परिस्थितिले देखाउँछ।
म मान्छु, नेपालले यो बीचमा जे उपलब्धि प्राप्त भएको छ यो कुनै पनि अर्थमा सन्तोषजनक छैन। तर राजाको ३० वर्षको पञ्चायती शासनकालमा दक्षिण एसियामा नेपालको प्रतिव्यक्ति आय त्योबेलाकै सबैभन्दा कम थियो। तुलना गरेर हेरौं। अहिले धेरै, धेरै, धेरै विकास भएको छ।
सन् २००५ मा नेपालको कुल ग्राहस्थ उत्पादन ८ अर्ब डलर थियो। अहिले २०२३ मा ४४ अर्ब डलर पुगेको छ। तुलना गर्ने? राजा र अहिलेको सँग? तथ्यमा जाऔं।
१५ वर्षअघिको तुलनामा पूर्वाधार निर्माण निकै धेरै अघि बढेको छ। बिजुली, टेलिफोन, इन्टरनेट, सञ्चार, सडक, शिक्षा र स्वास्थ्यका पूर्वाधार गाउँगाउँ पुगेका छन्। गाउँमा पक्की स्कुल देख्न मुस्किल पर्थ्यो। बरू बिडम्बडा- आज स्कुल करोडौं लागतमा बनेका छन्, विद्यार्थीको कमी छ।
चाहना धेरै छन् तर केही भएन भनेर जुन गलत भाष्य बनाउन खोजिँदैछ, यो आफैमा आपत्तिजनक छ। म धेरै कुरा भन्न चाहन्न।
दक्षिण एसियाका र संसारका अन्य देशमा भन्दा हाम्रो देशमा महिलाहरूको प्रतिनिधित्व (३३ प्रतिशत) सुरक्षित छ। जुन अहिलेसम्म भारतले गर्न सकेको छैन। गर्छु भनेर बसिरहेको छ। स्थानीय निकायमा ४० प्रतिशत महिला आरक्षण छ। समावेशी राजनीति छ। हामीले यो सबैले देख्नुपर्दैन?
यो देशले राजाको ठाउँमा, तराईमा बालखकालमा भैंसी चढेर गोठालो जाने, पढेर डाक्टर भएको, पहिलो तराईको भूमिपुत्रलाई राष्ट्रपति बनायो, के बिग्रियो?
त्यसपछि आएर पहाडि भोजपुरकी सामान्य परिवारकी छोरी मुलुककी राष्ट्रपति भइन् के बिग्रियो? आज तनहुँको एउटा सामान्य परिवारको ब्राम्हण परिवारको मान्छे राष्ट्रपति भएको छ, के बिग्रेको छ?
अनि भोलि कुनै पूर्वको राई लिम्बु वा पश्चिमको गुरूङ वा तराईको थारू वा दलितको छोरा राष्ट्रपति हुँदा इज्जत जान्छ? जाँदैन। हिजो सामन्तवादको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरूलाई गरिब जनताको छोरा राष्ट्रपतिको कुर्सीमा बसेको असह्य भएको होला। सामान्तवादको ग्लानीले ‘अरे यो बुढीबाख्रोको छोरा जस्तो’ बाहुनलाई के राष्ट्रपति मान्नु। त्यो भोजपुरकी विद्या भण्डारीलाई के राष्ट्रपति मान्नु। त्यो तराईको मधेसीलाई के राष्ट्रपति मान्नु भन्ने पीडा बोधले राजा चाहियो भनेको छ।
राजा किन चाहियो?
राजतन्त्रको इतिहास हेरौं। आफ्नै वंशको बहादुर शाह जसले पृथ्वीनारायण शाहपछि नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेले। नेपालको सीमाना बढाउन खोजे। इतिहासकारहरू कोही तिनलाई तेल छर्केर जेलमा मारियो भन्छन्। कोही काका–भतिजा र देवर–भाउजुको लडाइँमा। कोही आत्महत्या गर्न बाध्य बनाइयो भन्छन्।
अनि रणबहादुर शाहको उपद्रव हेरौँ। दरबारको द्वन्द्वले गर्दा जेठी र कान्छी रानीको लडाइँले भीमसेन थापा र दामोदार पाण्डे जस्ता देशभक्त भारदार काटिए।
त्यसपछि हेरौं, राजेन्द्रविक्रम शाहको पालामा कसले कोतपर्व घटायो? जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दा कोतपर्व जन्मेको होइन? जहाँबाट १ सय ४ वर्षको राणा शासनको बिजारोपण भयो।
त्यसपछि हेर्नुस्- त्रैलक्यविक्रमलाई युवराज भएका बेला कसले बिष खुवाएर मार्यो दरबारमा? कुनै जनताले गरेको थियो पड्यन्त्र?
त्यसपछि त्रिभुवन दिल्ली त गए तर कलकत्तामा क्लबहरूमा राजाले विभिन्नथरीका महिलाहरूसँग रसरंग मच्चाउन थालेपछि त्यसबेलाको स्टेटम्यानहरूदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे। अनि बाध्य भएर भारतको प्रधानमन्त्री नेहरूले बोले– नेपालको राजाको तरिका ठिक भएन भनेर। राजा त्रिभुवनलाई काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो। त्यो लोकतन्त्रलाई उनका छोरा महेन्द्रले खोस।
(राप्रपा सांसद ज्ञानेन्द्र शाहीले उठेर विरोध जनाए। सभामुखले रघुजी पन्तलाई आफ्नो विचार राख्न अनुमति दिए।)
मसँग बहस गर्न इतिहास पढेर आउनुस्, जुम्लामा हाहु गरेर आएको जस्तो होइन। इतिहास पढेर आउनुस् बहस गर्ने हो भने पढेर आउनुहोस्।
(ज्ञानेन्द्र शाहीलाई आसन ग्रहण गर्न फेरि पनि सभामुखको आग्रह।)
मैले बोलेको इतिहास गलत हो भने इतिहासका पुस्तक पढाएर छानबि गरौं।
(ज्ञानेन्द्र शाही – जे पायो त्यो भन्न पाइन्छ? गलत इतिहास पढाउन पाइन्छ यहाँ?)
के भन्न पाइन्छ मलाई थाहा छ। मैले बोल्न पाऊँ सभामुख महोदय। इतिहास पढेर आउने मिस्टर।
सभामुख महोदय,
हामीले यो संसदबाट एक मतले चुच्चे नक्सा छाप्यौं। २०१२ सालमा छापिएको हुलाक टिकटमा नेपालको नक्सा छ। टिकटमा छ। २०१७ सालमा पञ्चायतको अवधिमा कसले बुच्चे बनायो, जबाफ चाहियो। कहाँ हरायो र किन हरायो चुच्चे नक्सा।
अनि गणतन्त्र आएपछि नेपालको संसदले एसर्ट गर्यो। आफ्नो पुरानो नक्सा खोज्यो र त्यसलाई पुर्नस्थापित गर्यो। अनि यो राष्ट्रियता कमजोर भएको हुन्छ।
तपाईंहरू जुलुस निकाल्नुहुन्छ राजावादीहरूको भनेर। त्यहाँ यसो हेर्यो सबैभन्दा तल देश। देशभन्दा माथि नरेश र नरेश भन्दा माथि योगी र उत्तरप्रदेश। यही हो देशभक्ति? देशभक्तिको नमुना यही हो? म भन्छु राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्सा हरायो। त्यति मात्र होइन, नेपालको लोकतन्त्र पनि हरायो। २०१७ सालको काण्ड गरेर सम्पूर्ण नेताहरूलाई प्रवासमा पठाइयो। जेलमा दसौँ वर्ष हालियो। इतिहास फर्केर हेरौं।
२०४६ सालमा आन्दोलन गर्यौं। बहुदलीय लोकतन्त्र स्थापित गर्यौं। हामी गणतन्त्रवादी एमालेहरू तर हामीले सम्झौतामा ठिक छ संवैधानिक राजतन्त्र मानेर जाने। त्यो संवैधानिक राजतन्त्र कसले उल्ट्यायो? त्यो उल्ट्याएको राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९ गरेर होइन?
अनि राजतन्त्र केका लागि चाहिएको? त्यसैका लागि? अनि युवराज दसैं र तिहारको बेला लुकेर बनाइयो। त्यसपछि युवराजले के-के गरे? एउटा गीत गाएर घर फर्किरहेको कलाकार प्रविण गुरूङलाई नारायहिटीमा मोटरसाइकलमा गइरहेको बेलामा पछाडीबाट गाडीबाट लखेटी लखेटी किच्याएर मारे। के यो पनि झुठो हो? अनि जब हल्लाखल्ला भएर मुद्दा चलाउनुपर्ने कुरा उठ्यो। त्यसपछि एउटा भुजेल खडा भयो। उसले गाडी चलाइरहेको थियो भनेर। यही होइन राजतन्त्रमा भएको नमूना? कानुनको शासन। त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन।
म सभामुखको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु- अहिलेको नेपालको संविधानले राजतन्त्र चिन्दैन। त्यसैले त्यो विषयमा संसदभित्र छलफल गर्न पाइँदैन। यसले गणतन्त्र मात्र चिन्छ। राजतन्त्र इतिहासको विषय भइसक्यो। संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन्। किनभने राजतन्त्र भनेको विशेषाधिकार हो। त्यसैले संसारको राजनीतिको प्रवाह गणतन्त्र हो। नेपालमा गणतन्त्र आउनुपर्थ्यो, आयो। अब पुर्नस्थापना भन्नेलाई यसो सोधौं न, किन राजतन्त्र शाहवंश?
मल्ल किन नल्याउने? तिनको पनि हक लाग्ला? लिच्छवी किन नल्याउने? त्योभन्दा अघिको किराँतहरूले किन पुर्नस्थापना कुरा नगर्ने। महिषवंश र गोपालवंशले किन पुर्नस्थापनाको कुरा नगर्ने? कुन राजतन्त्रको कुरा हो? इतिहासमा थुप्रै राजतन्त्र छन्।
संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन्, जान्छन्। यो समयको प्रवाह हो। गणतन्त्र आजको युगको सत्य हो।
सभामुख महोदय,
म सम्पादक थिएँ। मलाई कुनबेला जेल लैजान्छ थाहा हुन्थेन। मलाई जेल जाँदाखेरि के अपराधमा जेल लगियो थाहा हुँदैनथ्यो। उहाँहरू राष्ट्रियताको ठूलो कुरा गर्नुहुन्छ। म रातो युगधाराको सम्पादक थिएँ। पूर्व-पश्चिम राजमार्ग पूरा भएको थिएन। महाकालीपारिका १८ वटा पुल टेण्डर गर्दा चिनियाँ कम्पनीलाई पर्यो। चिनियाँ कम्पनीलाई पाएको ठेक्का बाह्य दबाबमा उल्ट्याइँदैछ भनेर मैले समाचार लेखेबापत मलाई अञ्चालाधीश कार्यालयमा बोलाएर बयान लिइयो। नभन्दै केही समयपछि त्यो अठार वटा पुलको निर्णय उल्टियो। यही होइन देशभक्ति, यी त प्रमाण हुन्। गएर पढे हुन्छ, त्यतिबेलाको अखबारको। त्यसबापत मुद्दा खेप्ने र अञ्चालाधीश कार्यालयमा मुद्दा खेप्ने मान्छे मै हुँ।
म दृष्टिको सम्पादक थिएँ। अञ्चालाधीश कार्यालयबाट सेन्सर गर्न शाखा अधिकृत खटाइयो। उसले सेन्सर गर्यो। हरेक हप्ताको अखबार उसले काट्थ्यो। त्यो बेलाको फाइल पल्टाएर हेरे हुन्छ। मैले यो पंक्ति अञ्चालाधीश कार्यालयले सेन्सर गरेको हुनाले यो ठाउँ खाली छ भनेर मैले त्यस्तै पठाइदिन थालेँ।
अञ्चलाधीश कार्यालयले आपत्ति जनायो तर मैले मानिनँ। अनि त्यही दृष्टिको अंकहरूको आधारमा राजकाज मुद्दा चलाइयो। बयान कसले लियो – नरेन्द्रकुमार चौधरी अञ्चालधीश थिए। रणबहादुर चन्द डिआइजी हुनुहुन्थ्यो। ४५ दिन थुनेपछि फैसला गर्ने बेला तपाईंको चालचलन राम्रो भएर छाडेको थियो। मेरो चालचलन कहिले बिग्रिएको थियो र? तिनको प्रमाण चाहिने हो र चालचलन कस्तो छ भन्न।
यसरी आधारहीन रूपमा थुनिन्थ्यो। ९ महिना रसुवा लगेर थुनिन्थ्यो यहाँ जेल छँदाछँदै। किन थुनियो? मलाई आजसम्म थाहा छैन। शान्ति सुरक्षाको पूर्जी दिइयो। म हातमा कलम लिएर हिँड्ने मान्छेबाट यो देशलाई के खतरा थियो? यो देशको राजतन्त्रलाई के खतरा थियो?
हो मैले डेमोक्रेसीको पक्षमा, लोकतन्त्रको पक्षमा आवाज उठाएको थिएँ। सायद त्यतिबेलाको राजसंस्थाले त्यसैलाई खतरा मान्यो।
त्यसैले सभामुख महोदय, राजतन्त्र भनेको षड्यन्त्र हो। षड्यन्त्र नेपालको राजतन्त्रमा मात्र होइन। लिच्छवी, मल्लदेखि अरू संसारको राजतन्त्र त्यस्तै छ। जयप्रकाश मल्ललाई कसले थुनेको थियो? आफ्नै स्वास्नीले जेलमा हालेकी थिइन्।
राज्यप्रकाशको आँखा पाटनमा कसले फुटाइदिएको थियो? त्यसैले राजा राम्रा छन् भने कसले मान्दैन। हामी पृथ्वी जयन्ती मनाउँछौं। हामी बहादुर शाहलाई कदर गर्छौं। वीरेन्द्रको पनि हामी त्यतिधेरै विरोध गर्दैनौं। कमसेकम सम्झौतामा प्रजातन्त्र दिए भनेर। त्यसैले हामी बहुदलवादीहरू विवेकी हुन्छौं। लोकतन्त्रलाई विश्वास गर्छौं। जनताको भावनालाई विश्वास गर्छौं।त्यसैले म माननीयजीहरूलाई पनि के भन्छे भने तपाईंहरू प्रश्न उठाउँदा बुझेर उठाउनुहोस्।
किन जरूरी छ भने – आज उठ्यो सुविधा दिने विधेयक ल्याइँदैछ। ए बाबा, यहाँ कति जना हुनुहुन्छ प्रतिपक्षका सांसदहरू गार्ड लिएर हिँड्नुहुन्छ। अहिले सांसद मात्र हुनुहुन्छ। त्यो विधेयक आउने कुरा साँचो हो कि हैन? अहिले सरकारबाट पावरमा भएकाहरूले अन्धाधुन्ध सुविधा लियो भनेर सर्वोच्चले आदेश गर्यो। यसरी नदेऊ, यो सुविधा रेगुलेट गर, मापदण्ड बनाएर देऊ भन्यो। त्यो विधेयकको मस्यौदा डेढ वर्षदेखि कानुन मन्त्रालयमा चलिराखेको छ। यो सरकार आएको कति भयो? को छ?
मन्त्रीजीहरूले बोल्नुपर्ने हो। हुन त मन्त्रीजीहरूको पारा देखेर म पनि छक्क पर्छु। हिजो प्रकाशमानजीले पाल्पामा बोल्नुभएको छ– अहिले भइरहेको छैन भनेर। त्यही कुरा आएर संसदमा भने भयो नि! संसदमा उठेपछि रेस्पोन्स त गर्नुपर्यो नि!
कसरी बनेको, किन बनेको, कुन अवस्थामा बनेको र सरकारको सोच के छ, पटक पटक प्रश्न उठेपछि मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ?
म प्रधानमन्त्रीलाई आग्रह गर्दछु- जनताको चासोलाई सम्बोधन गरौं। जनताको भावनालाई सम्बोधन गरौं। लोकतन्त्र भनेको जनभावना अनुसार अघि बढ्ने हो। उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने यो प्रधानमन्त्रीय व्यवस्था हो। मन्त्रीहरू फेर्ने बेला आयो। पफमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरूरी छैन। प्रधानमन्त्रीले निश्चय पनि मूल्याङ्कन गर्नु भएको होला। त्यसैले आजको जनतालाई असन्तुष्टिलाई ठिक ढंगले सम्बोधन गरौं। हामीले पाएका उपलब्धीहरू दक्षिण एसियामा कम छैन। तथ्यले भन्छ, तथ्याङ्कले भन्छ। आउनुहोस् बहस गरौं।
सभामुख महोदय,
मेरो आग्रह के भने हाम्रा माननीय सांसदज्यूहरूलाई। मेरो व्यक्तिगत रूपमा बडा राम्रो सम्बन्ध छ। जो राप्रपाबाट आउनुभएको छ। उहाँहरू तर्कपूर्ण कुराकानी राख्नुहुन्छ कहिलेकाहीँ तर संविधान त हेर्नुहोस्। राजतन्त्रलाई त हामीले बिदा गरिसक्यौं।
आमाको पेटबाट जन्मिएको बच्चालाई फेरि आमाको पेटमा पठाउन सकिँदैन। राजतन्त्र ल्याउने संघर्षका लागि हामी फेरि सडकमा उत्रन नपरोस्। बौद्धिक विमर्श गर्नुस् ठिक छ। त्रास सिर्जना गरेर वातावरण बिगार्न खोजिन्छ भने विपक्षी त गइसक्यो, सत्तापक्ष पनि सडकमा आउने दिन आउन सक्छ। धन्यवाद।
यसको केही समयपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही बोले।
ज्ञानेद्र शाही;
केही दिनदेखि केही साथीहरू यो व्यवस्था जोगाउनुपर्छ भनेर धेरै उफ्रिरहनुभएको छ। स्वाभाविक हो। यो व्यवस्था यस्तो व्यवस्था हो चुनाव हार्ने हरूवा चरूवाहरू मन्त्री बन्दै यो देशको प्रधानमन्त्री बन्ने, चुनावै नजितेर सांसद बन्न पाउने व्यवस्था हो।
यो १६ वर्षको इतिहासमा १४ पटक सरकार परिवर्तन भयो। झन्डै एक हजार मन्त्री भए। ३१ वटा मुख्यमन्त्री भए, ३० वटा प्रदेश प्रमुख भए। तीन जना राष्ट्रपति भए, तीन जना उपराष्ट्रपति भए। झन्डै ३ हजार त सांसद भए। अनि सबै मिलेर खान पाए पछि यो व्यवस्था उत्तम हो भन्नु उहाँहरूलाई स्वाभाविक हो।
अर्को स्वाभाविक कारण के हो भने, जो-जो यहाँ भाषण गरिरहेका छन्, यी नेताका छोराछोरीहरू, केही कर्मचारी र उच्च पदस्थका छोराछोरी युरोप, अमेरिका पढ्ने तर गरिब, दु:खी जनताका छोराछोरी आज दुबई र खाडीमा गएर बेल्चा हान्नुपर्ने। यो १६ वर्षमा १४ हजारभन्दा बढी युवाहरू रातो बाकसमा लास बनेर फिर्ता हुने बनाउनका लागि यो व्यवस्था यिनीहरूलाई अझै चाहिएको हो।
२६ खर्ब वैदेशिक ऋण भयो, त्यसका लागि व्यवस्था चाहिएको छ। अहिले पनि यो देशमा कर्मचारी, नेता र यिनीहरूको सांसद, यहाँका मुख्यमन्त्री, मन्त्री, पाल्दा पाल्दै साना राजा, छोटा राजा महाराजाहरू पाल्दापाल्दै यो देशमा एक वर्षमा १५ खर्ब खर्च हुन्छ, त्यो जोगाउनका लागि यो व्यवस्था यिनीहरूलाई चाहिएको छ।
यो व्यवस्था जनतालाई चाहिएको होइन। के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो? के अहिलेको राष्ट्रपति जनताले चुनेको हो? सीमित यही संसदभित्र रहेका केही व्यक्तिले चुनेको हो। यदि दम, हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री स्वीकार्छौं त्यसपछि। होइन भने यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने व्यवस्थापाठ गर्ने?
हत्याको कुरा गर्नुभयो। मदन भण्डारीको हत्या कसले गर्यो? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुनुहुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जबाफ यो संसदलाई चाहिन्छ।
राष्ट्रपति तपाईंहरूकै थिए। प्रधानमन्त्री तपाईंहरू हुनुहुन्थ्य्यो, संसदमा दुई तिहाइ थियो। अनि मदन भण्डारीको हत्याराको याद आएन? साथीहरूले थुनियो भन्नुभयो।
म एक जना व्यक्ति हुँ। तपाईंको उत्तम गणतन्त्रको बेला चामल बाँड्दाबाँड्दै ९ दिन सिडिओ कार्यालयमा थुनाइएको व्यक्ति हुँ। र आज पनि, अहिले पनि भर्खरै राप्रपाका विद्यार्थी युवा नेता निराजन बमलाई तपाईंहरूले चितवनबाट अरेस्ट गर्नुभएको छ। यो तपाईंहरूको लोकतन्त्र हो?
अघि एक जना माननीयज्युले भन्दै हुनुहुन्थ्यो- काण्ड सम्झाइदिऊँ?
निर्मला पन्तको बलात्कारपछि हत्या भयो। तपाईंहरूका कति गृहमन्त्री फेरिए? कति प्रधानमन्त्री फेरिए? कति पटक वल्लो पक्ष, पल्लो पक्ष, सरकारमा गयौं गणतन्त्रवादीहरू एक जना निर्मलाको हत्यारालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौं?
अर्को कुरा सम्झाइदिन चाहन्छु- बाँदरमुडे घटना याद छ? निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन? अझ अर्को घटना सम्झाइदिउँ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्; यसको जबाफ चाहिन्छ कि चाहिँदैन? यो हो व्यवस्था?
खुलामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो। भारतको दिल्लीमा लुकेर नेपालमा निहत्था मान्छेहरू मार्नुपर्छ भनेर अगाडि बढ्ने व्यक्ति यो देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था यो उत्तम हो? यसकै लागि चाहिएको हो यो व्यवस्था?
व्यवस्था जनताका हितका लागि हुनुपर्छ। आज कर कति छ? तीन सय प्रतिशत कर छ। हुँदाहुँदा पैतृक सम्पत्तिमा समेत तपाईंहरूले लाभ कर लिन थालिसक्नुभएको छ। त्यसकारण यो व्यवस्था जनतालाई चाहिएको होइन। हामीले स्पष्ट भनेका छौं। सबै मान्छे अटाउने अहिले पनि स्पष्ट भन्छौं; प्रजातन्त्र मासिँदैन। न यहाँ प्रजातन्त्र मासिन्छ, न यहाँ लोकतन्त्र मासिन्छ। सिर्फ राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ। बस् यत्ति हो, यहाँभन्दा अरू होइन। लोकतन्त्र र गणतन्त्रको उत्तम व्यवस्थाभित्र हामी छिर्न चाहन्छौं। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔं।
अहिले पनि यहाँ कतिपय सांसदहरू हुनुहुन्छ, टीका लगाउनुहुन्छ। ८१ प्रतिशत हिन्दु भएको देश आज हिन्दु राष्ट्र मासिएको छ। प्रदेश संरचना खारेज गर्नुपर्ने, प्रदेश पालिएको छ। कार्यकर्ता सेटलमेन्टका लागि देशलाई २६ खर्ब नोक्सान गर्न पाइँदैन। त्यही भएर राजा सहितको प्रजातन्त्र चाहिन्छ। खुलमखुल्ला बहस गर्न तयार छौं।
भिडिओ: