यमनमा अमेरिकी आक्रमणमा मारिनेको संख्या ३१ पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि शनिबार रातिदेखि अमेरिकी सेनाले यमनको राजधानी सना लगायतका क्षेत्रमा हुथी विद्रोहीलाई लक्ष्य गरेर ठूलो परिमाणमा हवाई हमला गरेको हो।
आइतबार बिहानसम्म त्यहाँ मारिने हुथी विद्रोहीको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
हुथी विद्रीहीहरुले रेड सीमा अमेरिकी पानी जहाजलाई लक्ष्य गरेर आक्रमण गर्दै आएको छ।
त्यसो हुँदा अमेरिकाले अर्बौं डलरको नोक्सानी ब्यहोर्नुपरेको भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यमनमा आक्रमण गर्न आदेश दिएका हुन्।
ट्रम्पको आदेशपछि अमेरिकाले गएराति यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।
यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको हो।
शनिबारको आक्रमणलाई ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति जिम्मेवारी सम्हालेपछिकै ठूलो आक्रमण भनिएको छ। उक्त आक्रमण इरानका लागि चेतावनी समेत रहेको भनिएको छ।
हुथीविरूद्ध ठूलो आक्रमण गरेर ट्रम्पले इरानलाई चेतावनी दिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले ट्रुथ सोसलको आफ्नो अकाउन्टमा लेखेर हुथीविरूद्ध कारबाही 'निर्णायक' कारबाही थालिएको बताएका छन्। उनले इरानलाई हुथीलाई सहयोग नगर्न चेतावनी पनि दिएका छन्। हुथीको राजनीतिक विभागले यसलाई युद्ध अपराध भनेका छन्। उनीहरूले यसको पूर्ण रूपमा जबाफ दिन यमनी सशस्त्र बलहरू तयार रहेको पनि बताएका छन्।
इरानी रिभोलुसनरी गार्डका कमाण्डर हुसेन सलामीले अमेरिकी आक्रमणको जबाफ दिने विषयमा निर्णय गर्न हुथी स्वतन्त्र रहेको बताएका छन्।
तर ट्रम्पले धम्की दिएजस्तै एक्सनमा उत्रिए इरान पनि त्यसको निर्णायक जवाफ फर्काउन तयार रहेको बताए।
'हामी हाम्रो दुस्मनलाई यो चेतावनी दिन्छौं कि इरानले दिने जबाफ पनि निर्णायक र विनाशकारी हुनेछ,' उनले भने।