राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अहिले विश्वविद्यालयहरूमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको ढाँचा फेर्नुपर्ने खाँचो औंल्याएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले गत केही हप्तादेखि नेपालका हजारभन्दा बढी क्याम्पसहरूमा स्ववियु निर्वाचनको नाममा ताण्डव देखिएको बताएका छन्।
उनले क्याम्पसमा हुने यस प्रकारका गतिविधिले विद्यार्थी पलायनलाई बढाएको पनि बताए।
‘तालाबन्दी, बन्दहड्ताल, कुटपिट तोडफोड, चन्दा आतंक, दलभित्रका गुटगत प्रदर्शन छ। माउ पार्टीका कमान्डर नै तोकिएको छ। राजनीतिकरण दलीयकरण गरिएको छ। विश्विद्यालयहरू र उच्चशिक्षा प्रणालीलाई क्षतविक्षत गर्ने तरिकाले कामहरू अगाडि बढेका छन्। जुन असाध्यै चिन्ताजनक छ,’ उनले भने।
क्याम्पसहरू चेतनाको थलो हुनुपर्नेमा आज रणमैदान बनेको उनले टिप्पणी गरे उनले हाम्रा विश्वविद्यालयहरू स्वायत्त हुनुपर्ने पनि बताए।
‘एक–दुई दिनको समय लिएर एकदमै शान्तिपूर्ण किसिमले क्याम्पसका प्रशासकहरूले सामान्य तवरले गराउन सक्ने निर्वाचनहरू पनि जुन प्रतिष्ठाको लडाइँ, जुँगाको भिडन्त जुन देखिइराखेको छ। त्यो असाध्यै निन्दनीय छ। म पढ्दै थिएँ- गत वर्ष लगातार तीन–चार वर्षदेखि एक लाखभन्दा बढी नो अब्जेक्सन लेटर जारी भएका छन्। यो देशभित्रै पढ्न सकिएन, अब बाहिर नै जानुपर्छ। भन्ने छ। सरकारी अड्डाहरूमा पनि दैनिक २ हजार निवेदन पर्ने, कर्मचारीले दैनिक १२ घन्टा काम गर्दा पनि जम्मा १०० वटा मात्रै नो अब्जेक्सन लेटर जारी हुने, बाढी नै छ,’ उनले भने।
प्रतिभाशाली विद्यार्थी, प्राचार्यहरूको पलायन चलिरहेकोतर्फ पनि उनले संसदको ध्यानाकर्षण गराए। विद्यार्थी आन्दोलनबाट आएकाहरू अहिले सांसद भएकाले आफूले पढेको विश्वविद्यालय, क्याम्पसहरूको अवस्थाप्रति चिन्तित हुनुपर्ने पनि धारणा राखे।
‘यसको कारक के होला? यसको कारण खोज्ने बेला भएन? केही दर्जन नेता उत्पादन गर्न लाखौं विद्यार्थीहरूको भविष्य जोखिममा पार्ने गरिएको छ। पछिल्लो केआइआइटीको प्रसंगबारे हामीले संसदमा छलफल गर्यौं। उडिसाजस्तो गरिब राज्य, सहरको एउटा कुनामा रहेको विश्वविद्यालयमा १५ सय बढी नेपाली विद्यार्थी पढ्छन् भन्दा हामी झसंग पनि भयौं,’ उनले भने।
भिडिओ: