इसराइलको आक्रमणबाट गजामा ९ जना मारिएका छन्।
गजामा युद्धविरामको विषयमा इजिप्टको राजधानी कायरोमा वार्ता हुँदै गर्दा इसराइलले शनिबार राति गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो।
आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्य भएको हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
मारिनेहरुमध्ये तीन जना स्थानीय पत्रकार रहेका छन्। इसराइली हवाइ आक्रमणमा परी अरू धेरै जना गम्भीर घाइते भएका छन्।
इसराइलले गरेको हवाई आक्रमण एउटा कारमा परेको थियो। त्यसले कारभित्र रहेका र बाहिर रहेकाहरूको ज्यान लिएको भनेर रोयटर्सले लेखेको छ।
उक्त कारमा सवार रहेकाहरू एउटा च्यारिटी कार्यक्रममा जाँदै थिए। सोही कारमा केही रिपोर्टर र फोटो पत्रकारहरु पनि सवार थिए। उनीहरू सबैको मृत्यु भएको प्यालेस्टिनी मिडियाहरूले जनाएका छन्।
इसराइली सेनाले विज्ञप्ति जारी गरेर बेइत लाहियामा दुई 'आतंककारी'लाई निशाना बनाइएको भनेको छ।
उनीहरू ड्रोन हमलावर भएको र ड्रोनलगायतका उपकरणहरूल बोकेर गाडीमा छिरेको इसराइली सेनाको दाबी छ। त्यसकारण उनीहरू सेनाका लागि खतरा हुन सक्ने आकनल गरेर उनीहरूमाथि आक्रमण गरेको भनेर इसराइली सेनाले प्रष्टीकरण दिएको रोयटर्सले जनाएको छ।
हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयकी प्रमुख सलमा मारौफले सेनाको उक्त दाबीलाई अस्वीकार गरिन्।
'उक्त टोली सर्वसाधारणहरुको समूह हो जसले विभिन्न शिविरहरूमा मानवीय सहायतासम्बन्धमा च्यारिटीहरूमा काम गर्छन्। उनीहरू निषेधित क्षेत्रमा पनि थिएनन् र इसराइली सेनाले भनेजस्तो उनीहरूलाई खतरा पैदा हुने गतिविधिमा पनि संलग्न थिएनन्।'
इसराइलले शनिबार दिउँसो पनि गजाको मध्य सहर जुहर एलदिकमा हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो।
हमासले इसराइलमाथि युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ। जनवरी १९ देखि युद्धविराम सुरू भएयता नै इसराइलले आक्रमण गरी १५० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको आरोप लगाएको छ।
हमासले इजरायललाई चरणबद्ध युद्धविराम सम्झौता कार्यान्वयन गर्न बाध्य पार्न मध्यस्थकर्ताहरूलाई आग्रह गरिरहेको छ।
गजामा युद्धविराम लम्ब्याउने वा यसअघिको सम्झौता अनुसार दोस्रो चरणको युद्धविराम सुरू गर्ने भन्ने विषयमा इजिप्टको राजधानी कायरोमा छलफल भइरहेको बताइएको छ।
इसराइल केही समय पहिलो चरणकै युद्धविराम लब्याउनुपर्ने पक्षमा छ। पहिलो चरणको युद्धविराम माघ ५ गते सुरू भएर फागुन १७ गते सकिएको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफले युद्धविरामको पहिलो चरण थप ४२ दिन लम्ब्याउने प्रस्ताव इसराइलसँग गरेका थिए।
त्यसमा इसराइल सहमत भए पनि हमासले दोस्रो चरणको युद्धविराम अघि बढाउनुपर्नेमा अडान राखेको थियो।
दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने भनिएको थियो। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने पनि सर्त छ।
तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने भनिएको थियो।
त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौता थियो।
सोही अनुसारको प्रक्रिया अगाडि बढाउनुपर्नेमा हमासको अडान छ।
पहिलो चरणको युद्धविराम सकिएपछि दोस्रो चरणको युद्धविरामका छलफलहरू सकारात्मक ढंगले अगाडि नबढ्दा अमेरिकाको प्रस्तावमा इसराइलले पहिलो चरणकै युद्धविराम थप ७ हप्ता बढाउन सहमत भएको थियो।
त्यसमा हमासले अस्वीकार गरेपछि गजामा मानवीय सहायताका लागि जाने सवारी साधनहरूलाई जान दिएको छैन।