युद्धविरामका लागि रूस तयार नभए अमेरिका र युरोपले थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा किभ सहमत भएको एक सातापछि बसेको जी-७ राष्ट्रका विदेशमन्त्रीहरूको बैठकले रूसमाथिको प्रतिबन्ध अझै कडा बनाउने र जफत गरिएको रूसी सम्पत्तिबाट युक्रेनलाई युद्धमा सहयोग गर्ने धम्की दिएका हुन्।
बैठकपछि संयुक्त विज्ञप्ति जारी गरी मस्कोलाई प्रतिबन्ध कडा बनाउने र युक्रेनमा सहायता बढाउने धम्की दिएका हुन्।
युक्रेनमा अस्थायी युद्धविराम गर्ने विषयमा रूस तयार नभएपछि युक्रेनलाई सहायता बढाउन अमेरिकासहित जी-७ राष्ट्रहरू एकमत भएका हुन्।
क्यानडामा भएको जी-७ राष्ट्रका विदेशमन्त्रीहरुको बैठकले सम्झौता कार्यान्वयनमा क्रेमलिन तयार नभए दबाबका लागि थप प्रतिबन्ध लगाउन बाध्य हुने निष्कर्षमा पुगेको भनेर फाइनान्सियल टाइम्सले समाचार लेखेको छ।
बैठकमा मस्कोलाई दबाब दिनका तेलको मूल्य समायोजन, युक्रेनलाई थप समर्थन लगायत अन्य उपायहरूबारे छलफल भएको थियो।
रूसले युक्रेनमा आक्रमण गरेपछि जी७ र युरोपियन युनियनका राष्ट्रहरूले रूसको केन्द्रीय बैंकले पश्चिमा देशहरूमा राखेको करिब ३०० अर्ब युरो सम्पत्ति रोकेर राखेका छन्।
पश्चिमा राष्ट्रहरूको समूह जी७ को गत वर्ष जुनको शिखर सम्मेलनमा रूसको त्यही पैसा प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिने सहमति भएको थियो। त्यसमध्ये अमेरिकाले २० अर्ब डलरको ऋण दिने प्रतिबद्धता व्यक्त गरेको थियो।
अमेरिकाले २०२४ को अन्तिमसम्ममा युक्रेनलाई सहायता रकम उपलब्ध गराउने प्रतिबद्धताअनुसार उसले गत मंसिरमा सो सहायता उपलब्ध गराइसकेको छ। त्यतिबेला अमेरिकामा जो बाइडेन राष्ट्रपति थिए।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेयता युक्रेनमा युद्ध अन्त्य गर्नका लागि दुवै देशलाई दबाब दिइरहेका छन्।
युद्ध अन्त्यका लागि साउदी अरबमा अमेरिकाले रूस र युक्रेनसँग छुट्टाछुट्टै वार्ता गरेको थियो। वार्तका क्रममा युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने अमेरिकाको प्रस्तावमा किभ सहमत भइसकेको छ।
रूसले भने उक्त प्रस्ताव स्वीकार गरिसकेको छैन।
युद्धविरामको प्रस्ताव स्वीकार नगरे अमेरिकाले पनि रूसलाई विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाउन सक्ने भनेर राष्ट्रपति ट्रम्पले धम्की दिएका थिए।
जी-७ राष्ट्रको बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रूबिओलाई पत्रकारहरूले अमेरिकाले लगाउने भनेको प्रतिबन्धको विषयमा के हुँदैछ भनेर प्रश्न गरेका थिए।
त्यसमा रूबिओले राष्ट्रपति ट्रम्प तत्काल रूसमाथि प्रतिबन्ध लगाउने पक्षमा नरहेको भनेको फाइनान्सियल टाइम्सले लेखेको छ।
‘उहाँ (ट्रम्प) अझै युद्धविराम हुने आशामै हुनुहुन्छ र अमेरिकाले नै त्यसको मध्यस्त गर्नुपर्छ भन्नेमा नै हुनुहुन्छ,’ रूबिओले पत्रकारहरूसँग भने।
उनले रूस साँच्चिकै युद्धविराम गर्ने पक्षमा छ वा समयमात्रै व्यतित गरिरेको छ भन्नेमा पनि विश्लेषण आवश्यक रहेको बताए।
‘ऊ युद्धविरामतर्फ अघि बढेको छ वा ढिलाइ गर्ने रणनीतिमा छ भन्ने बारेमा यकिनका साथ भन्न सक्दिनँ,’ रुबिओले भने।
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले शनिबार हुने २५ युरोपेली देशका नेताहरूसँगको बैठकमा पनि रूसलाई युद्धिविराम गर्न वाध्य पार्न के के विषयमा प्रतिबन्ध लगाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ।
साथै ‘फ्रिज’गरिएका रूसी सम्पत्तिको प्रयोगबारे पनि छलफल हुने फाइनान्सियल टाइम्सले लेखेको छ।
लामो समयदेखि फ्रिज गरिएका सम्पत्तिहरू पूर्ण रूपमा जफत गर्ने कुराको विरोध गर्दै आएका फ्रान्स र जर्मनीले यस विचारलाई स्वीकार गरिरहेको त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिरहेका छन्।
‘हामी पुटिनलाई राष्ट्रपति ट्रम्पको सम्झौतासँग खेल खेल्न अनुमति दिन सक्दैनौं,’ स्टार्मरले भने।
क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले पनि युक्रेन मुद्दामा जी ७ मुलुक एकताबद्ध रहेको बताइन्। ‘बल अब रूसको कोर्टमा छ,’ उनले भनिन्।
रूसले भने छोटो समयका लागि युद्धविराम नगर्ने भनेर स्पष्ट रूपमा भनिसकेको छ।
राष्ट्रपति पुटिनका उच्च सहयोगी युरी उशाकोभले रसियन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै रूसले आफ्नो स्वार्थ र चिन्तालाई ध्यानमा राख्दै दीर्घकालीन शान्ति सम्झौताका लागि जोड दिने बताएका थिए।
उनले युक्रेन र अमेरिकाबीच भएको वार्तामा प्रस्तावित ३० दिने युद्धविरामलाई रूसले युक्रेनी सेनाको लागि 'अस्थायी सास फेर्ने अवसर' मात्र भनेर टिप्पणी गरेका थिए।
'अहिलेको समयमा शान्तिको नक्कल गर्ने कदम कसैलाई पनि चाहिँदैन,' उशाकोभले भनेका थिए।
अमेरिकाले आफ्नो अडान बुझ्ने र त्यसलाई ध्यानमा राखेर अगाडि बढ्ने विश्वास लिएको पनि उशाकोभले बताए।
रूसको यो अडानले दुई मुलुकबीच तत्काल युद्धविराम गराउने राष्ट्रपति ट्रम्पको चाहनामा धक्का पुग्ने देखिएको छ। ट्रम्पले रूस र युक्रेनबीच तत्काल युद्धविराम गराउन चाहेका छन्। रूस आफ्नो अडानमा कायम रहेकोमा ट्रम्पले के कदम चाल्छन् स्पष्ट छैन।
रूसले युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा राख्न र जर्मनीको पूर्वमा नाटोको उपस्थितिलाई सीमित गर्न चाहेको छ। अमेरिका र रूस भविष्यमा हुने सम्पर्कहरू गोप्य राख्न सहमत भएको पनि रूसी अधिकारीहरूले बताएका छन्।
पुटिनले युद्धविरामको पूर्वशर्तको रूपमा युक्रेनले रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिण-पूर्वी क्षेत्रहरू र क्रिमियन प्रायद्वीपलाई मान्यता दिनुपर्ने, यी क्षेत्रहरूबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र कहिल्यै नाटोमा सामेल नहुने प्रतिज्ञा गर्नुपर्ने माग गरेका छन्।
रूसले युक्रेनी सेनामा सीमा तोक्न, देशभरिका रूसी भाषीहरूको संरक्षण गर्न र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको स्थानमा नयाँ निर्वाचन गर्न दबाब पनि दिइरहेको छ।
रूसले शीतयुद्धपछि नाटोको पूर्ववर्ती विस्तारलाई फिर्ता लिन माग गरेको छ।
यस्तो विस्तारले २०२२ मा युक्रेनमा आक्रमणको आदेश दिन आफू बाध्य भएको पुटिनले दाबी गरेका छन्।