रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न चेतावनी दिएका छन्।
शुक्रबार रूसी सुरक्षा परिषदका सदस्यहरूसँगको भर्चुअल बैठकमा पुटिनले कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले सर्वसाधारणविरूद्ध अपराध गरेको तर अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरुको जीवन रक्षाको अपिल उनीहरूले आत्मसमर्पण गरेको अवस्थामा स्वीकार हुने बताएका हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै आफूले पुटिनलाई कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनाहरुलाई जीवनदान दिन भनेको बताएका थिए।
‘मैले राष्ट्रपति पुटिनलाई उनीहरूको जीवन बचाउन जोडदार अनुरोध गरेको छु। यो दोस्रो विश्वयुद्ध पछि नदेखिएको भयानक नरसंहार हुनेछ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
शुक्रबारको सुरक्षा परिषदको बैठकमा पनि पुटिनले ट्रम्पले गरेको अनुरोधबारे सदस्यहरूलाई जानकारी गराएका थिए भनेर अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
‘यदि युक्रेनी सेनाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे भने, उनीहरूलाई अन्तर्राष्ट्रिय कानुन र रूसको कानुन अनुसार जीवन र उचित व्यवहारको ज्ञारेन्टी गरिनेछ,’ उनले भने।
उनले रूस अमेरिकासँगको सम्बन्धलाई पुनःस्थापित गर्न चाहेको बताउँदै ट्रम्पले भनेअनुसार गर्नका लागि कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनाहरुले आत्मसमर्पण गर्नुपर्ने बताएका हुन्।
‘सम्बन्ध विस्तारै अगाडि बढिरहेको छ। हेरौं के हुन्छ,’ पुटिनले बैठकमा भनेका थिए।
बैठकपछि रुसी सुरक्षा परिषद्का उपाध्यक्ष, पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले सामाजिक सञ्जालमा पोस्ट गरेर आत्मसमर्पण नगरे सोहीअनुसार हुने र उनीहरूको नष्ट गरिने बताएका छन्।
पुटिन आफै केहि दिनअघि कुर्स्क क्षेत्रमा पुगेका थिए। त्यहाँ पुगेर उनले आफ्ना सैनिकहरूलाई त्यस क्षेत्रलाई तत्काल खाली गर्न निर्देशन दिएका थिए।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनको नियन्त्रणमा रहेको कुर्स्क क्षेत्रका सबै भागहरू चाँडै मुक्त हुने बताएका छन्।
'उहाँ (पुटिन)ले यो काम सकेसम्म चाँडो गर्न आवश्यक रहेको भन्नुभएको छ। हाम्रो सेनाले नागरिकहरूको ज्यान बचाउँदै कुर्स्क क्षेत्र चाँडै नै मुक्त गर्नेछ भन्नेमा शंका छैन,’ उनले भने।