प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला-साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने 'हिमवत खण्ड कला-साहित्य-संस्कृति सम्मिलन २०८१' का स्वदेशी र विदेशी सहभागीलाई शुक्रबार स्वागत गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवत खण्ड मानव सभ्यताको ऐतिहासिक भूभाग भएकाले यहाँको कला, साहित्य र संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रिय सम्मिलनको दोस्रो शृंखला आयोजना भएकोमा खुसी प्रकट गरे।
प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको सुरूआत भएको बताए। उनले यी सबै ज्ञान र मान्यताको गम्भीर खोज र अध्ययन तथा अनुभव आदानप्रदान गर्न सहभागीहरूलाई आग्रह पनि गरे।
चैत ३ सम्म काठमाडौंमा हुने सम्मिलनमा नेपाल, भारत, म्यानमार, भुटान, चीन, थाइल्यान्ड लगायत देशका करिब पाँच सय स्रष्टाको सहभागिता छ। नेपाल बाहिरबाट ५८ जना सहभागी छन्।
कार्यक्रममा प्राध्यापक डा. चुडामणि बन्धु, प्राध्यापक डा. माधवप्रसाद पोखरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्टानका कुलपति निशा शर्मा, भारतको काशी हिन्दु विश्वविद्यालयका भारतीय भाषा विभागका अध्यक्ष प्राध्यापक डा. दिवाकर प्रधान, साहित्यकार कविता लामा लगायत सहभागी थिए।
सम्मिलनको उद्घाटन शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो। आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ। सम्मिलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखण्ड बृहत् सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवतखण्डका कविहरूको काव्य उत्सवको कार्यक्रम छ।
सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानले गोष्ठीपत्र प्रस्तुत गर्ने क्रम सुरू भएको छ।
यसअघि भानु जयन्तीका अवस्सरमा २०७५ असार २९ देखि ३१ गतेसम्म काठमाडौंमा यस प्रकारको पहिलो सम्मिलन आयोजना भएको थियो।