समाजवादी मोर्चाका नेताहरूबीच शुक्रबार झन्डै डेढ घन्टा छलफल भएको छ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बिहान साढे ८ बजेदेखि सुरू भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिती र आगामी कार्यक्रमबारे झन्डै डेढ घन्टा छलफल भएको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले जानकारी दिए।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेकका सबै नेता उपस्थित थिए। अध्यक्ष नेपाल भने स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित भएनन्।
बैठकमा विशेषगरी तीन विषयमा छलफल भएको नेता प्रकाण्डले बताए।
पहिलो, समसामयिक राजनीतिक परिस्थिती, दोस्रो, यसअघि घोषित कार्यक्रमको व्यवस्थापन र आगामी कार्यक्रमबारे।
बैठकले समसामयिक राजनीतिक परिस्थिति प्रतिकूल भएको निष्कर्ष निकालेको नेता प्रकाण्डले बताए।
आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भनेर हजारौं मानिसहरू सडकमा उत्रिएका थिए। सो विषय गणतन्त्रवादी सबै राजनीतिक दलहरूले ध्यान आकर्षित गरेको थियो। संसदमा पनि यसबारेमा सांसदहरूले बोलेका थिए।
समाजवादी मोर्चाको बैठकमा पनि ती लगायत समग्र परिस्थितीबारे चर्चा भएको र यो अवस्था निकै प्रतिकूल भएको निष्कर्ष निकालिएको उनले बताए।
'त्यसले विशेषगरी गणतन्त्र, राष्ट्रियता र समाजवादको यात्रालाई चुनौती दिएको भन्ने निष्कर्ष रह्यो,' उनले भने।
समाजवादी मोर्चाले वर्तमान परिस्थितीको गाम्भीर्यता र समाधानका उपायहरूका बारेमा बुद्धिजिवी र नागरिक समाजसँग पनि अन्तर्क्रिया गर्ने निर्णय पनि गरेको नेता प्रकाण्डले बताए।
उनका अनुसार अन्तर्क्रिया भोलि बिहान ११ बजे ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा हुनेछ।
'जनताका विरूद्ध, स्वाधीनता र जनताका अधिकारका विरूद्धमा गणतन्त्र र समाजवादका विरूद्धमा भइरहेका षड्यन्त्र भइरहेका छन्। गडबढी गर्ने मानसिकताको पछिल्लो दिनमा भद्दा ढंगले देखिन थालेको छ। यही विषयमा केन्द्रीत गरेर अन्तर्क्रिया गर्ने लागेका हौं,' उनले भने।
भोलि दिउँसो तीन बजे वर्तमान परिस्थितको बारेमा जनतालाई सुसूचित गराउन पत्रकार सम्मेलन गर्ने निर्णय भएको पनि उनले बताए।
मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शन र विरोध सभा गर्दैछ। त्यसलाई सफल बनाउने विषयमा पनि छलफल भएको नेता प्रकाण्डले बताए।
जसपा नेपाल फुटेपछि उपेन्द्र यादव बैठकमा जान छाडेका छन्। बैठकमा उपस्थित नभएपनि समर्थन कायम रहेको नेता प्रकाण्डले बताए।
'उपेन्द्र यादवसँग पनि छलफल चलिरहेको छ। उहाँसँग कुरा हुँदा समर्थन रहेको बताउनुभएको छ। सहभागीताको कुरा पनि छलफल गर्यौं भने सम्भव हुन्छ,' प्रकाण्डले भने।