रूसले युक्रेनमा युद्ध अन्त्य र अमेरिकासँगको सम्बन्ध सुधारका लागि विभिन्न सर्तहरू राखेको छ।
रूसले अमेरिकालाई सर्तहरूको सूची नै पठाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
सूचीमा के-के छ भन्ने कुरा चाहिँ खुलिसकेको छैन। सर्तहरू मानेपछि मात्रै रूस युक्रेनसँग वार्तामा बस्ने हो वा होइन भन्ने भन्ने प्रष्ट नभएको बताइएको छ।
युद्ध अन्त्यका लागि त्यसरी पठाइएको सर्तमा पुरानै कुराहरू उल्लेख रहेको पनि रोयटर्सले स्रोतहरुलाई उद्धृत गरेर लेखेको छ।
यसअघि जो बाइडेनको कार्यकालमै पठाएका सर्तहरू पुनः रूसले ट्रम्प प्रशासनलाई पठाएको भनिएको छ। त्यति बेला पनि ती सर्तहरूबारे छलफल भएको भनेर अमेरिकी अधिकारीहरूले बताएका छन्।
सर्तका सूचीमा युक्रेनलाई नेटो सदस्य राष्ट्रमा सामेल गराउन नहुने, युक्रेनी भूभागमा अरू देशका सेना परिचालन गर्न नहुने र रूसले कब्जा गरेको क्राइमियालगायत चार युक्रेनी भूभागहरु रूसको हो भनेर अन्तर्राष्ट्रिय मान्यता स्थापित गर्नुपर्ने मुख्य रहेका छन्।
मंगलबार जेद्दामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीच भएको वार्तामा युद्ध ३० दिनका लागि युद्ध रोक्ने अमेरिकी प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको छ। सो प्रस्ताव स्वीकार गरेसँगै अमेरिकाले सैन्य सहायता रोक्ने निर्णय फिर्ता लिएको छ।
युद्धविरामको ३० दिनको अवधिमा रूस युक्रेनबीच शान्ति सम्झौताको खाका तयार गर्ने र दीर्घकालीन शान्ति हुने सुनिश्चित गरिने भनिएको छ।
युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी प्रस्ताव रूसले पनि मानेपछि मात्रै कार्यान्वयन हुने भनेर अमेरिका र युक्रेन दुवैले मंगलबारको वार्तापछि जानकारी दिएका छन्।
ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच साउदी अरेबियामा वार्ता हुने घोषणा गरेका थिए। युक्रेन र युरोपेली देशका कुनै प्रतिनिधिबिना साउदी अरेबियाको राजधानी रियादमा फेब्रुअरी १८ मा अमेरिका र रूसबीच वार्ता पनि भएको थियो।
युक्रेनको सहभागिताबिना शान्ति सम्झौता गरेर युक्रेनमाथि लाद्न नहुने भनेर वार्तामा युक्रेन र युरोप दुवैको प्रतिनिधित्व हुनुपर्ने भनेर युरोपेली देशहरूले माग गर्दै आएका थिए।
तर फेब्रुअरी २८ मा ह्वाइट हाउसमा जेलेन्स्कीको ट्रम्प र भान्ससँग चर्काचर्की भएपछि अमेरिका र युक्रेनको युद्ध रोक्नेबारे कुराकानी भएको थिएन। त्यसको रिसमा ट्रम्पले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता र खुफिया सूचना रोकेका थिए।
जेलेन्स्कीले चर्काचर्की गरेर गल्ती गरेको स्वीकारेपछि र बेलायत अनि फ्रान्स लगायत युरोपेली देशले युक्रेनसँग वार्ता आग्रह गरेपछि बल्ल ट्रम्प युक्रेनसँग वार्ता गर्न राजी भएका थिए।
अब अमेरिकाले रूस र युक्रेनसँग छुट्टा-छुट्टै वार्ता गर्ने अपेक्षा गरिएको छ। दुवै देश राजी भएपछि बल्ल युद्ध रोक्ने शान्ति सम्झौता हुनेछ।
युक्रेनलाई दिइरहेको सैन्य सहायता रोक्ने ट्रम्पको निर्णयपछि अमेरिकाको हतियार व्यापारमा समेत असर पर्ने देखिएकाले पनि अमेरिकाले सो निर्णय फिर्ता लिएको हुनसक्छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले युक्रेन वार्तामा बस्न तयार नदेखिएको जनाउँदै युक्रेनलाई दबाब हाल्न युरोपेली देशले युक्रेनलाई दिएको एफ-१६ लडाकू विमानलाई दिइरहेको प्राविधिक सहायता पनि रोकेका थिए।
ती लडाकू विमान अमेरिकासँग युरोपेली देशले किनेका हुन् र किनेको समयको करारअनुसार अमेरिकाले तिनको सञ्चालनका लागि प्राविधिक सहायता दिनुपर्छ। तर ट्रम्पले एकलौटी रूपमा युरोपेली देशले युक्रेनलाई दिएका लडाकू विमान पनि नचल्ने गरी प्राविधिक सहायता रोकेका थिए।
युरोपेली देशले अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुमति लिएर मात्रै ती विमान युक्रेनलाई दिएका थिए। अहिले ट्रम्पले एकलौटी रूपमा ती विमानलाई प्राविधिक सहायता रोकेकाले युरोपमा अमेरिकी हतियारको विश्वसनीयतामाथि शंका उठेको थियो।
अहिले युक्रेनलाई दिएको एफ-१६ लडाकू विमानलाई प्राविधिक सहायता रोकेको अमेरिकाले भोलि युरोपेली देशलाई चाहिएको बेलामा यसरी नै ती प्राविधिक सहायता रोक्न सक्ने डर जन्माएको थियो।
लामो समयसम्म नेटोको सदस्य भएर अमेरिकासँग रक्षा सहकार्य गर्दै आएका युरोपेली देशका विश्लेषकले अमेरिकी हतियार एकैचोटि नचल्ने बनाउने ‘किल स्वीच’ अमेरिकासँग रहेको दाबी गर्थे।
अमेरिकाले सो ‘किल स्वीच’ प्रयोग गरेर धोका दिनसक्ने तर्क गर्थे। अहिले ट्रम्पले युक्रेनलाई दिएको एफ-१६ लडाकू विमानलाई दिइरहेको प्राविधिक सहायता रोकेपछि सो तर्कलाई सहायता मिलेको थियो।
अमेरिकाको हतियार व्यापारमा अहिले सबभन्दा ठूलो हिस्सा अत्याधुनिक एफ-३५ लडाकू विमानको छ। उसले नेटो सदस्य र एकदमै बलियो सम्बन्ध भएका केही देशलाई मात्रै एफ-३५ विमान बेच्ने गरेको छ।
ट्रम्पले युक्रेनलाई दिएको एफ-१६ लडाकू विमानलाई दिइरहेको प्राविधिक सहायता रोकेपछि युरोपेली देशमा एफ-३५ विमान नकिन्न जनताले दबाब दिन थालेका छन्।
ट्रम्पले एकलौटी रूपमा अरू देशसँग गरेको सम्झौता तोडेको उदाहरण दिँदै उनीहरूले एफ-३५ विमान किन्न पहिल्यै गरेको करार समेत तोड्नु पर्ने भन्न थालेका छन्।
यसबारे गम्भीर बहस उठिसकेको भनेर जर्मनीको रक्षा खर्चसम्बन्धी संसदीय समितिको सदस्य रहेका एक सांसदलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले लेखेको थियो।
ट्रम्पका कारण अमेरिकाले गुमाएको विश्वासका कारण अमेरिकी हतियार कम्पनीलाई घाटा हुनसक्ने विभिन्न अमेरिकी मिडियाले जनाएका थिए।
ट्रम्पले युक्रेनलाई दिइरहेको सैन्य सहायता रोकेका कारण र उनको पुटिनसँग राम्रो सम्बन्धले गर्दा युरोपेली देशले युक्रेनलाई सहयोग गर्न र आत्मरक्षाका लागि आफ्नो रक्षा खर्च बढाउने घोषणा गरेका छन्।
उनीहरूले त्यसका लागि आगामी दशकमा खर्बौं डलरले रक्षा खर्च बढाउने भएका छन्।
सामान्य समयमा भए त्यसको ठूलो हिस्सा अमेरिकी लडाकू विमान लगायत अत्याधुनिक हतियार किन्न खर्च हुन्थ्यो। तर ट्रम्पका कारण युरोपेली देशमा अमेरिकी हतियार किन्न नहुने कुरा उठ्न थालेको छ।
त्यसै कारणले युरोपेली देशले रक्षा खर्च बढाउने घोषणा गरेपछि युरोपेली हतियार निर्माताको सेयरको भाउ ह्वात्तै बढे पनि ठूला अमेरिकी हतियार कम्पनीको सेयर भाउ खासै नबढेको वाल स्ट्रिट जर्नलले औंल्याएको थियो।
त्यसैले अमेरिकी हतियारको बिक्री नघटोस् भनेर पनि अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहायता रोक्ने निर्णय फिर्ता लिएको हुनसक्छ।