नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्ने कुरामा वैचारिक अन्योल देखिएको बताएका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधबार आयोजना गरेको नयाँ युगको कार्यभार: वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको बताए।
उनले कर्मचारीतन्त्रले शासकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे।
उनले राजनीतिक परिवर्तन भए पनि राज्यका अङ्गहरू पुरानै रहेकाले उनीहरूको बुद्धि विवेकले काम नगरेको आरोप लगाए।
उनले सत्तामा पुगेका हरेक नेताहरूलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गरे।
अबको विकल्प राजनीतिमा नभई कर्मचारीतन्त्रमा चाहिएको उनको भनाइ छ।
उनले भने, ‘संविधानले भनेको समाजवादको बाटो तय गर्ने कुरामा वैचारिक अन्योलता छ। पहिलो कुरा प्रष्टै छ कि विकासको मोडालिटी के हो त? बजेट खर्च कसरी गर्ने? सही गर्नेले सही गर्दैन कसरी खर्च गर्ने? सम्भवै छैन। मैले प्रधानमन्त्री जीहरू शेरबहादुर र प्रचण्ड जीलाई भनेको थिएँ। टेबुल टेबुलको शासन छ यहाँ। तपाईंहरू शासन गर्नुस् न भनेको थिएँ उहाँहरू शासन गर्नुहुन्न। प्रधानमन्त्रीले गरे पनि एउटा टेबुलको शासन गर्नुहुन्छ। अरू सयौँ टेबुलहरू छन्। मुख्य कुरा राज्य पुनःसंरचनाको कुरा थियो, त्यतिबेला नै आग्रह वा पूर्वाग्रह के हो त्यहाँ गल्ती गरेका छौँ। हाम्रा राज्य सत्ताका कतिपय अङ्गहरूलाई हामीले यथास्थितिमा राख्यौं र अनि पोलिटिकल नेताहरूले गाइड गरेनन् कि उनको गाइडमा चले कुरा यही हो। म वा अर्को। नेताहरू कस्ले चलायो पुरानो ब्युरोक्रेसीले चलायो। उनीहरूले न भिजन ल्याए न बुद्धि विवेक ल्याए। समस्या त्यसैमा छ। विकल्प त्यसमा चाहिएको छ।’
उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिए। वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरूले दिनुपर्ने उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल