नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्।
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको बुधबार बुटवलमा उद्घाटन गर्दै उनले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र बिचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको दाबी गरे।
यही कारण इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको प्रचण्डको भनाइ छ। गत आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भएको स्वागतलाई लक्ष्य गर्दै उनले भने, ‘माओवादीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार छ। त्यसका लागि पार्टीले अपिल गर्दा लाखौं जनता काठमाडौका सडकमा उत्रन्छन्।’
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उनले बताए।