सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएको विधेयकमाथि रचनात्मक रूपले छलफल गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक–८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताए।
उनले सरकारले ल्याएको विधेयक निरंकुश नभएको जिकिर गर्दै अध्यादेश भित्रको विषय वस्तु गहिराइमा गएर अध्ययन गर्न प्रतिपक्षीलाई आग्रह गरे।
उनले विषय वस्तुमाथि द्वन्द्वात्मक रूपले बुझ्ने क्षमता प्रतिपक्षहरूसँग नभएको आरोप लगाए।
उनले भने, ‘जब हामीसँग एउटा आग्रह हुन्छ, आग्रहले हाम्रो सोचाइको क्षितिजलाई एकदमै साँघुरो बनाउँछ। माननीय ज्यूहरूले आग्रह राखेर बोलिरहनुभएको छ। अध्यादेश भन्ने बित्तिकै कुनै निरंकुश चिज हो भन्ने हिसाबले व्याख्या गर्नुभएको छ। यो उहाँको एकाङ्की विचार हो भन्ने लाग्छ मलाई। अध्यादेशभित्र के कुरा छ र यो के कारणले ल्याइयो भन्ने कुरा गहिराइमा गएर अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ र छलफल गर्नुपर्छ भन्ने लाग्छ मलाई। सत्ता पक्षले अध्यादेश ल्याउने बित्तिकै प्रतिपक्षले त्यसको विरोध गर्नुपर्ने। हामी विषय वस्तुको लामो छलफलमा गइरहेका छैनौँ। हामी आग्रह पोख्छौँ, भ्रमको खेती गर्छौँ यहाँ। रचनात्मक रूपले सोच्ने, छलफल गर्ने, द्वन्द्वात्मक रूपले बुझ्ने कुराको धेरै अभाव देख्छु।’
मन्त्री गुरूङले सुशासन प्रवर्द्धन गर्नु आजको सबैभन्दा सबैको साझा उद्देश्य र दायित्य भएको बताए।
प्रतिस्थापन गर्न बनेको विधेयकहरूको विरोध हुनु वैचारिक र सैद्धान्तिक रूपले गलत भएको उनको भनाइ छ।– न्युज एजेन्सी नेपाल