तालाबन्दीका कारण काठमाडौंका शंकरदेवसहित विभिन्न जिल्लामा रहेका क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ।
शंकरदेव, पद्मकन्या, सरस्वति, विश्वभाषा क्याम्पसमा तालाबन्दी छ।
विद्यार्थी संघसंगठनभित्रका विवादका कारण तालाबन्दी भएका हुन्। त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ।
यहाँ नेविसंघबाटै धेरै जना उम्मेदवार छन् तर नेविसंघ प्रवक्ता सुरज सेजुवालले दिपकराज जोशी आधिकारिक उम्मेदवार भएको बताए।
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघबाट अनोज कार्की, सनम वलीले उम्मेदवारी दिए।
साथै निवर्तमान स्ववियु कोषाध्यक्ष पद्मा भुसालले पनि त्रिवि केन्द्रीय क्याम्पसमा सभापतिमा उम्मेदवारी दिएकी छन्। भुसालले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी हुन्।
यीमध्ये अनोज महामन्त्री गगन थापानिकट हुन् भने सनम शेखर कोइरालानिकट हुन्।
आरआर क्याम्पसमा विनोद जोशीले नेविसंघबाट उम्मेदवारी दिँदा दिपेन्द्र रावतले बागी उम्मेदवारी दिएका छन्।
त्रिचन्द्र क्याम्पसमा नेविसंघले श्रीधर श्रेष्ठलाई टिकट दिए पनि स्वतन्त्र भएर गोविन्द कोइराला, सागर न्यौपाने, विवेक बानियाँले उम्मेदवारी दिएको नेविसंघका एक केन्द्रीय सदस्यले जानकारी दिए।
नेपाल कमर्श क्याम्पसमा उपसभापति पूर्णबहादुर खड्कानिकट रविन वली, ताहाचलमा सभापति शेरबहादुर देउवा निकट पुष्प वटालाले उम्मेदवारी दिएका छन्।
अस्कलमा शेखरनिकट राजु लामिछानेलाई नेविसंघले उम्मेदवार बनाएको छ।
बानेश्वर क्याम्पसमा देउवानिकट निराजन कार्कीले टिकट पाए। उपत्यकाका धेरै क्याम्पसमा नेविसंघ भित्रको आन्तरिक विवादका कारण वागी उम्मेदवारी परेको ती केन्द्रीय सदस्यले बताए।
पृथ्वीनारायण क्याम्पस पोखरामा शेखर निकट सुशील न्याौपाने उम्मेदवार छन्। पर्साको ठाकुराममा नेविसंघकै राज यादवको बागी उम्मेदवारि परेको छ, केन्द्रले अर्कैलाई टिकट दिएको थियो।
धौलागिरि वहुमुखी क्याम्पस बागलुङमा नेविसंघले सृष्टि आचार्यलाई टिकट दिएको छ भने नेविसंघकै दिपक सुवेदिले बागी उम्मेदवारी दिएका छन्।
महेन्द्रमोरङ क्याम्पस विराटनगरमा नेविसंघले प्रजल विष्टलाई उम्मेदवार वनाएको छ भने नेविसंघकै योगराज दाहालले पनि उम्मेदवारी दिएका छन्।
वीरेन्द्र बहुमुखी क्याम्पस विराटनगरमा सफल गुरूङलाई ने.वि.संघले उम्मेदवार बनाएको छ।
विवाद नभएका क्याम्पसमा भने चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।