पछिल्लो समय प्रतिनिधि सभा दिउँसो १ बजे बस्दै आइरहेको थियो। बुधबार भने बिहान ११ बजेलाई नै बैठक तय गरिएको थियो।
कारण प्रतिनिधि सभाको आजको बैठकको कार्यसूची लामो थियो। पाँच वटा प्रतिस्थापन विधेयक अघि बढाउनुपर्ने भएकाले सम्भवतः बैठक सधैं बस्दै आएको समयभन्दा अगाडि सारिएको थियो।
आजको बैठक पनि निर्धारित समयमा सुरू भने भएन। केही ढिला गरी सुरू भएको बैठकमा सांसदहरूको उपस्थिति न्यून थियो। सत्ता पक्षको लहर पूरै खाली थियो। सभामुख देवराज घिमिरेले मन्त्री बस्ने लहरतिर हेर्दै थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे उठेर आपत्ति जनाइहाले। उनले सरकारले संसदको अवमूल्यन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराए।
‘सरकार सदनलाई हेपिरहेको छ। हामी जनप्रतिनिधिहरूलाई हेपिरहेको छ। एउटा कुरामा मात्र होइन। हरेक कुरामा। हाम्रा अभ्यासहरू सरकार मानिरहेको छैन। अहिले सदन सुरू भएको छ। यतिखेर मन्त्रीहरू, सरकारको प्रतिनिधि कोही पनि छैन,’ उनले भने।
सरकारले संसदीय समितिमा पनि उपस्थित नहुने गरेको टिप्पणी गरे।
‘हामी समितिहरूमा, उपसमितिहरूमा जान्छौं। प्रतिपक्षी दल उपस्थित हुन्छ। तर सरकार उपस्थित हुँदैन। त्यसैले यो बैठक चल्दैन। सरकार नभइकन। हाम्रो नियमावलीको अभ्यास अनुसार त्यसैले तुरून्त बन्द गरियोस्,’ उनले भने।
यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे।
आज प्रतिनिधि सभामा मन्त्री अनुपस्थित भएकोबारे राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आपत्ति जनाएको छ।
रास्वपाकी सचेतक निशा डाँगीले दुई तिहाइले बनेको सरकारले संसदमा गणपूरक संख्या नपुर्याउने त कहिले सदनमा मन्त्रीसमेत उपस्थित गराउन नसक्ने अवस्था रहेको बताइन्।
‘दुई तिहाइले बनेको सरकारले कहिले गणपूरक संख्या पुर्याउन नसकेर सदन स्थगित गर्नुपर्छ त कहिले सदनमा मन्त्री उपस्थित गराउन नसकेर सदन स्थगित गर्नुपर्छ,’ उनले भनिन्।