टेस्ला गाडीको बिक्री घटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कम्पनीको व्यापार उकास्न एउटा टेस्ला गाडी किनेर विज्ञापन गरेका छन्।
टेस्ला कम्पनीका मालिक इलन मस्कले आफ्नो समर्थन गरेका कारण उनलाई आर्थिक नोक्सानी भएकाले टेस्लाको विज्ञापनका लागि उनले सो गाडी किनेका हुन्।
मंगलबार ह्वाइट हाउसमा मस्कको उपस्थितिमा आयोजित एक कार्यक्रममा उनले रातो रङ्गको एस मोडल मन पराएको भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्।
बहालवाला अमेरिकी राष्ट्रपतिले कुनै पनि कम्पनी वा वस्तुको विज्ञापन गर्दैनन्। अमेरिकामा कार्यकारी अङ्गका अधिकारीहरूले विज्ञापन गर्न नपाउने नियम नै छ। राष्ट्रपतिको हकमा भने त्यस्तो कुनै नियम छैन। तर पनि राष्ट्रपतिले विज्ञापन नगर्ने अघोषित नियम जस्तै छ।
ट्रम्पले पनि राष्ट्रपति निवासमै खुल्लम-खुल्ला आफूलाई सबैभन्दा धेरै चन्दा दिने मस्कको कम्पनीको प्रचार गरेका छन्। मस्कले पछिल्ला दिनमा ट्रम्पको राजनीतिक समितिले चलाउने विभिन्न समूहका लागि १० करोड डलर चन्दा दिने भनेको समयमा ट्रम्पले टेस्लाको विज्ञापन हुने गरी गाडी किनेका हुन्।
आफूले मस्कसँग कुनै छुट नमाग्ने र चेकमार्फत पैसा तिर्ने भनेर ट्रम्पले भनेका छन्। सुरक्षाका कारण ट्रम्पले सो टेस्ला गाडी चलाउन भने पाउने छैनन्। उनको सुरक्षाको जिम्मेवारी लिएको सेक्रेट सर्भिसेजले उनलाई टेस्लाको गाडी चलाउने अनुमति नदिएकाले ह्वाइट हाउसका कर्मचारीले सो गाडी चलाउने ट्रम्पले बताएका छन्।
ट्रम्पको अघिल्लो कार्यकालको बेलामा मस्क अहिले जस्तो राजनीतिमा नहोमिएको मात्रै नभएर कसैलाई समर्थन पनि गरेका थिएनन्। तर पनि आफू डेमोक्रयाटिक पार्टीको मतदाता रहेको उनले भन्ने गर्छन्।
त्यतिबेला विद्युतीय गाडीको ट्रम्प घोर विरोध गर्थे। विद्युतीय गाडी धेरै महङ्गो हुने र चार्ज नगरी केही टाढा जान पनि नसक्ने भनेर विरोध गर्थै। सन् २०२३ को क्रिसमसको दिन त उनले सामाजिक संजालमा विद्युतीय गाडीहरू नर्कमा कुहिनु पर्छ भनेर पोस्ट नै गरेका थिए।
तर गत वर्षको निर्वाचन अघि भने मस्कले ट्रम्पको समर्थन गर्ने घोषणा गरे र प्रचार मै होमिए। अहिले मस्कको राजनीतिक गतिविधिका कारण उनको कम्पनीलाई नोक्सानी भए पछि टेस्लाको गाडी किनेर ट्रम्पले विज्ञापन गरेका हुन्।
विश्वभरि टेस्लाको बिक्री घट्न थालेपछि टेस्ला कम्पनीको सेयरको भाउ सोमबार एकैदिनमा १५ प्रतिशतले झरेपछि ट्रम्पले मस्कको समर्थनमा आफ्नो सामजिक संजाल ट्रुथ सोसलमा आफ्ना समर्थकलाई अपिल गरेका थिए। देशका लागि गज्जबको काम गरिरहेका मस्कलाई हानि गर्न ‘बामपन्थी बौलाहा’ ले टेस्लाको बहिस्कार अभियान चलाएको भनेर उनले आफ्ना समर्थनको ध्यानाकर्षण गराएका छन्।
साथै मस्कलाई समर्थन गर्न मंगलबार नै टेस्ला गाडी किन्ने पनि ट्रम्पले घोषणा गरेका थिए। टेस्लाको कुन मोडल किन्ने भनेर चाहिँ उनले खुलाएका थिएनन्। ट्रम्पको सो पोस्टको स्क्रिनसट आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले समर्थनका लागि ट्रम्पलाई धन्यवाद दिएका थिए।
ट्रम्पको समर्थनले टेस्ला कम्पनीलाई केही राहत पुगे पनि धेरै ठूलो फाइदा हुने भने देखिन्न। अमेरिकामा उदारवादीहरूले टेस्लाको विरूद्ध अभियान नै चलाएका छन्। त्यस्तो अभियान चलाउनेलाई नै ट्रम्पले आफ्नो पोस्टमा 'वामपन्थी बौलाहा' भनेका हुन्।
दुई दलीय व्यवस्था भएको अमेरिकामा करिब आधाजसो जनता उदारवादी डेमोक्र्याटिक पार्टीका समर्थक छन्। त्यसमाथि पनि डेमोक्र्याटिक मतदाता मौसम परिवर्तन रोक्न विद्युतीय गाडी किन्ने गर्छन्। ट्रम्पका धेरैजसो मतदाता मौसम परिवर्तनको विज्ञानमै विश्वास गर्दैनन् र त्यसलाई ठगी भन्छन्।
त्यसैले उनीहरू निर्धक्क डिजेल-पेट्रोलले चल्ने गाडी प्रयोग गर्छन्। ट्रम्पका धेरैजसो मतदाता कम आय हुने भएकाले पनि उनीहरूले डिजेल-पेट्रोल गाडीको तुलनामा महँगो टेस्लाका गाडी चाहेर पनि किन्न अप्ठयारो हुनेछ। यस्तोमा टेस्लाका प्रमुख उदारवादी ग्राहकहरूविरूद्ध आफ्नो सामाजिक सञ्जाल एक्समा गालीगलौजमात्रै गरेकाले उनीहरूले टेस्लाको बहिस्कार गर्न थालेका छन्।
टेस्ला कम्पनीको सेयरको भाउ सोमबार एकैदिनमा १५ प्रतिशतले घटेको छ। यो सन् २०२० को सेप्टेम्बरपछि टेस्लाको सेयरमा एकैदिन भएको सबभन्दा ठूलो गिरावट हो भनेर ब्लुमबर्गले लेखेको छ।
टेस्लाको सेयर २०२५ मा ४५ प्रतिशतले झरेको छ। जनवरीपछि मस्कको व्यक्तिगत सम्पत्ति पनि १ खर्ब ३० अर्ब डलरभन्दा बढीले घटेको छ। गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर र मस्कको व्यक्तिगत सम्पत्ति दुवै ह्वात्त बढेको थियो।तर ट्रम्पले कार्यभार सम्हालेपछि अमेरिकाको संघीय सरकारको शासकीय संरचनामा धावा बोलेका छन्।
त्यस्तै, युरोपेली देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै ट्रम्पजस्तै उग्र दक्षिणपन्थी विचारधारा भएका पार्टीलाई समर्थन गरेका छन्। त्यसै कारणले ट्रम्पको विजयपछि प्राप्त सबै लाभ गुमेको छ। टेस्ला कम्पनीको सबभन्दा महत्त्वपूर्ण मोडलको नयाँ डिजाइन निकाल्ने क्रममा आएका समस्याका कारण पनि टेस्लाको बिक्री घटेको मानिन्छ। तर यसको प्रमुख कारण उनले विपक्षीहरूलाई गालीगलौज गर्दै गरेको उग्र दक्षिणपन्थी राजनीति भएको विश्लेषकहरूको दाबी छ।
अमेरिकामा उदारवादीहरूले टेस्लाको विरूद्ध अभियान नै चलाएका छन्। मस्कको राजनीतिक सहभागिताको जर्मनीमा झन् ठूलो असर परेको छ। फेब्रुअरी २३ को आमनिर्वाचनअघि मस्कले उग्र दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनीलाई समर्थन गरेपछि जनवरी र फेब्रुअरी महिनामा टेस्ला गाडीको दर्ता ७० प्रतिशतले घटेको छ।
ट्रम्पले युरोपको सुरक्षालाई नै खतरा पर्नेगरी युक्रेनसँगको युद्धमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकटताका कारण रूसलाई सहयोग हुने खालका कदम चालेपछि युरोपका अरू देशमा पनि ट्रम्पको लोकप्रियता घटेको छ।
ट्रम्पको सबै कदमको समर्थन गर्ने र अझ अमेरिकाले नेटो छोड्नु पर्ने जस्तो उग्र अभिव्यक्ति दिएका कारण युरोपका अरू देशमा पनि टेस्लाको बिक्री घटेको मानिन्छ।
त्यस्तै विद्युतीय गाडीको सबभन्दा ठूलो बजार चीनमा टेस्लाभन्दा धेरै सस्ता बिवाइडी लगायत चिनियाँ कम्पनीको बिक्री व्यापक रूपमा बढेपछि त्यहाँ पनि टेस्लाको बिक्री घटेको छ। चीनमा फेब्रुअरी महिनामा टेस्लाको संघई सहरमा रहेको विश्वको सबभन्दा ठूलो टेस्लाको कारखानाको उत्पादन ४९ प्रतिशतले घटेको छ। पहिले ट्विटर भनिने सामाजिक सञ्जाल एक्स पनि किनेका मस्कले ट्रम्पलाई चुनाव जिताउन २५ करोड डलरभन्दा बढी खर्च गरेका थिए।
उनले एक्सलाई पनि ट्रम्पको समर्थनमा परिचालन गरे। मस्कको गुन तिर्न ट्रम्पले उनलाई डोज प्रमुखमा नियुक्त गरेका हुन्। ट्रम्पको मन्त्री चयनदेखि लिएर विदेशी सरकार प्रमुखहरूसँगको छलफलमा पनि मस्क सहभागी भएका थिए। ट्रम्पले गत नोभेम्बरमा भएको चुनावअघि नै सरकारी सेवालाई चुस्त बनाउन विश्वका सबभन्दा धनी व्यक्ति मस्कको नेतृत्वमा एउटा निकाय बनाउने घोषणा गरेका थिए।
चुनाव जितेपछि नोभेम्बरमै सो विभागको घोषणा गर्दा उनले मस्क त्यसको प्रमुख भनेर खुलाएका थिए। सो विभागले युएसएड लगायत धेरै अमेरिकी सरकारी कार्यालयमा आतंक मच्चाएको छ। हजारौं सरकारी कर्मचारीलाई निष्कासन गरेको छ भने अर्बौं डलरको सरकारी बजेट रोकेको छ।
त्यसैले अहिले डोज र मस्कविरूद्ध धेरै मुद्दा परेका छन्। यसरी ट्रम्पलाई समर्थनमात्रै नगरेर उनको शासनमै संलग्न भएको र अमेरिकामात्रै नभएर युरोपको राजनीतिमा पनि हस्तक्षेप गर्न थाले पछि उनलाई आर्थिक नोक्सानी भएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)