प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार प्रतिनिधि सभामा सम्बोधन गरेका छन्।
हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान रोकेर काठमाडौं फर्किएलगत्तैको संसद बैठकमा प्रचण्डले सम्बोधन गरेका हुन्।
आइतबार काठमाडौंमा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंलगायतले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गरेका थिए।
मंगलबारको संसद बैठकमा प्रचण्डले सुरूमै जनताले बलिदानीबाट प्राप्त उलब्धीमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देख्न थालिएको बताए। त्यसकारण विभिन्न कालखण्डमा भएका गौरवपूर्ण वलिदानलाई सबैले अझै विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने समय आएको उनको भनाइ थियो।
राजावादीहरूको बढ्दो 'चहलपहल'बारे प्रचण्डले चार कुरा भने।
पूर्वराजालाई नेपालमै बस्न दिइनु मौलिक र उदार गणतन्त्रको प्रमाण रहेको उनले बताए।
'संसारको इतिहास राजतन्त्रको रगतले लेखिएको छ। तर नेपाल त्यसको अपवाद बन्यो। हाम्रो उदारताको प्रमाण थियो। शाही परिवारमाथि हिंसा त परको कुरा निर्वासनसमेत नतोकी पूर्वराजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको छ,' उनले भने।
तर यही विषयलाई क्रान्तिको मजबुरी थियो भन्ने कसैलाई लाग्यो भने त्यो निकै ठूलो भ्रम हुने प्रचण्डले बताए।
'उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने सबैले हेक्का राख्न जरूरी छ,' उनले भने। गणतन्त्रका लागि हरेक ढुंगामा जनताको रगत बगेको कुरा बिर्सन नसकिने प्रचण्डले बताए।
अध्यक्ष प्रचण्डले गणतन्त्र माओवादीले उठाएको बन्दुकका कारण मात्र नभई सिमान्त वर्ग, जाति, क्षेत्र लिंग समग्रको त्याग र बलिदानको परिणाम रहेको पनि स्मरण गराए।
'यो हेक्का सबैलाई रहोस्,' उनले भने, 'सार्वभौम भइसकेका जनताहरू फेरि रैति हुन्छन् भन्ने सोचियो भने त्योभन्दा ठूलो भ्रम अरू केही हुन सक्दैन।'
प्रचण्डले हिजो टाउकाको मोल तोक्ने राजतन्त्र अन्तर्गतका राजावादी सम्मानीत संसदमै रहनू लोकतन्त्र र राजतन्त्रसँग तुलना नै हुन सक्दैन भन्ने यथेष्ट प्रमाण रहेको बताए।
'राजावादीहरूलाई आग्रह छ लोकतन्त्रभित्रै आफ्नो अस्तित्व खोज्नुस् हामीलाई आपत्ति छैन,' उनले भने।
उनले लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता सबै दलहरूले राखेका र संविधानले स्थापित गरेको पनि बताए।
'यो कुरालाई कमजोरी नठानियोस्,' प्रचण्डले भने, 'तर लोकतन्त्रका मूलभुत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तीले एकपटक फेरि आफ्नो शक्ति देखाउनेछ यो चुनौती पनि राख्न चाहन्छु।'
राजावादीको चहलपहल बढ्नुमा भने प्रचण्डले सम्पूर्ण दोष अहिलेको सरकारलाई दिए।
'लोकतन्त्रमा जति चुनौती बाहिरबाट छ त्यो भन्दा बढी चुनौती सत्ताशीन साथीहरूको कुशासनले व्यवस्थाभित्रैबाट त्योभन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई बिर्सन हुँदैन,' उनले भने।
त्यसकारण एकातिर सरकारका गलत क्रियाकलाप र अर्कातिर प्रतिगामी चलखेलविरूद्ध जुध्नुपर्ने विशिष्ट अवस्थाको सिर्जना भएको प्रचण्डको दाबी छ।
उनले ८ महिनाअघि आफू सरकारमा हुँदा देशमा ठूलो असन्तोष नभएको दाबी गरे।
माइतीघर लगभग खाली भएको, पीडितले कार्यालयभित्रै आत्महत्या प्रयास गरेको, गुठीपीडितहरू सयौं किलोमिटर छिचोलेर पीडा सुनाउन काठमाडौं आउनुपरेको सुनाउँदै यी सबै पछिल्लो ८ महिनामा बढेको बताए।
'लघुवित्त पीडितको समस्या बल्झिएको, सहकारी पीडित थप पीडित भए, सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका लगायतका दृष्टान्त सुनाए।
'दुग्ध उत्पादक किसान हुन् या तरकारी उत्पादक, निर्माण व्यवसायी हुन् या उखु किसान दलित हौं वा महिला। सबैलाई आन्दोलनमै देख्छु। हामी सबैलाई स्थिति जटिल छ भन्ने महशुस गरेका छौं,' उनले भने।
अध्यक्ष प्रचण्डले सरकारलाई पनि प्रश्न गरे।
सरकारमा बसेकाहरूलाई प्रश्न हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरू विकल्प देख्न छाडेको हो? सरकारले जनतासँग संवाद गर्ने सामर्थ्य गुमाएको हो कि संवाद गर्नै नचाहेको हो? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो?,' उनको प्रश्न थियो।
सरकारको विश्वसनीयता सक्किएकै देखेर आज पुरातन र राजतन्त्रवादी हौसिएको बताए।
भिडिओ: