प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरूको चहलपहलपछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन्।
'राजावादीहरूको यो चहलपहलपछाडि संगठित प्रयास छ भन्ने हामीलाई थाहा छ। यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,' उनले भने।
यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए। यस्ता चलखेलहरू यही ८ महिनामा अचानक वृद्धि किन भयो भन्ने प्रश्न मूल रहेको उनले बताए।
'बन्द कोठामा समेत राजतन्त्रका सपना देख्न डराएकाहरू सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्,' उनले भने।
पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै मूल कारण हो भन्ने बुझ्न कठिनाइ नभएको प्रचण्डले बताए।