नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकार राजावादीहरूको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन्।
सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी दिएका हुन्।
राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन। केही भएको छैन। केको डराउनु। त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले!’
अध्यक्ष दाहालले यसको जिम्मवारी सरकारले लिनुपर्ने पनि बताए।
उनले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताए।
उनले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जबाफ दिए।
उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन। केही भएको छैन। केको डराउनु। त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ। सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ। जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन। सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ। त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ। हामी सल्लाह गर्दैछौं।’
अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायी नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे।—न्युज एजेन्सी नेपाल