नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले प्रतिगामीहरू सलबलाए पनि आम जनतालाई त्यसले प्रभाव नपारेको बताएका छन्।
मंगलबार पदाधिकारी बैठकको निर्णय सुनाउँदै प्रवक्ता सापकोटाले बैठकमा मुलुकको परिस्थितिबारे समीक्षा भएको र यस्तो परिस्थिति आउनुमा वर्तमान सरकाको गलत काम कारक रहेको निष्कर्ष रहेको बताए।
यद्यपि त्यस्तो अभियानले खास जनतालाई फरक नपरेको उनले बताए।
'राष्ट्रिय राजनीतिक परिस्थितिमा भन्दा प्रतिगामीहरु अलिकति सल्बलाएका छन् । तर जनतालाई निकै प्रभाव परेको छैन । पहिलादेखि चाहनेहरुले केही आशा गरेको पाइयो तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रलाई अझ विकसित, सुदृढ गर्नुपर्छ भन्नेमा हुनुहुन्छ,’ सापकोटाले भने।
पदाधिकारी बैठकमा तराई/मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको उनले बताए।
अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको निष्कर्ष बैठकले निकालेको छ।
'एक प्रकारको लहर नै पैदा भएको छ । अभियान निकै प्रभावकारी भएको छ । बहुआयामिक सन्देश छोडेको छ । हामीले सयौँ कार्यक्रम गरेका छौँ । जहाँ गयौं त्यहाँ अमिट छाप छोडेका छौँ। जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने निर्णय भएको छ,' उनले भने।
उनले माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गरे। जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताए।