राप्रपा र राप्रपा नेपाल लगायतको आइतबारकाे प्रदर्शनमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीबीच फेसबुकमा आरोप प्रत्यारोप भएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार काठमाडौं आएका थिए।
उक्त कार्यक्रममा राप्रपाका पुराना नेता प्रदीपविक्रम राणाले मुख्यमन्त्री आदित्यनाथको तस्बिर अंकित बोर्ड प्रदर्शन गरेका थिए।
प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका उपमहासचिव रिमालले ‘राष्ट्रवादी महोदयहरूले र्यालीमा प्रयोग गरेका फोटाहरू भन्दै त्यही तस्बिर फेसबुकमा राखेका थिए।
रिमालको स्ट्याटस एमालेका कार्यकर्ताहरूले सेयर गरे। आइतबार साँझसम्म सय बढी सेयर भएको थियो।
सोमबार बिहान प्रवक्ता शाहीले फेसबुकमार्फत् नै भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाए।
उनले त्यो स्ट्याटस आधा घन्टाको अन्तरालमा पाँच पटक सम्पादन गरेका थिए।
‘हिजो पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ। नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छिः छिः! विदेशीको एजेण्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ? मार्क्स, लेलिन, माओ कुन देशका हुन्?,’ शाहीले सोधेका थिए।
त्यसको जबाफ फेरि रिमालले फेसबुकमार्फत् नै दिए।
उनले ग्राम्य लोकोक्ति उद्धृत गर्दै शाहीको आरोप ‘क्राँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने’ प्रकृतिको भएको टिप्पणी गरे।
‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्,’ उनले लेखेका छन्, ‘दलालहरू पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्।’
डिसइन्फरमेसनको सहारामा दुर्घटनावश् मर्यादित स्थानमा पुगेका ‘अयोग्य’हरूबाट फैलाइने भ्रम यस्तै भएको रिमालले आरोप पनि लगाएका छन्।