इसराइलले गजामा विद्युत आपूर्ति बन्द गरेको छ।
युद्धविराम लम्ब्याएर बाँकी रहेको बन्धक रिहा गर्न हमास तयार नभएपछि दबाबस्वरूप इसराइलले गजामा विद्युत आपूर्ति बन्द गर्ने निर्णय गरेको हो।
माघ ५ गते ४२ दिनको पहिलो चरणको युद्धविराम फागुन १७ गते सकिएको थियो। पहिलो चरणको युद्धविराम अवधि थप ४२ दिन लम्ब्याउन हमासले अस्वीकार गरेको थियो।
त्यसकारण गजामा विद्युत आपूर्ति रोक्न ऊर्जामन्त्री एली कोहेनले इसराइलको विद्युत निगमलाई निर्देशन दिएको बिबिसीले जनाएको छ।
'गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति रोक्ने आदेशमा हस्ताक्षर गरेको छु। हामी बन्धकहरूको रिहाइ गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं,' मन्त्री कोहेनलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
उनले गजामा इसराइलबाट आपूर्ति हुने पानी पनि रोक्ने विषयमा सोचिरहेको समेत बताएका छन्।
इसराइलले हमासले आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरोस् भन्ने चाहन्छ। तर हमास युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहन्छ।
दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने भनिएको थियो। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने पनि सर्त छ।
तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने भनिएको थियो।
त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौता थियो।
सोही अनुसारको प्रक्रिया अगाडि बढाउनुपर्नेमा हमासको अडान छ।
पहिलो चरणको युद्धविराम सकिएपछि दोस्रो चरणको युद्धविरामका छलफलहरू सकारात्मक ढंगले अगाडि नबढ्दा अमेरिकाको प्रस्तावमा इसराइलले पहिलो चरणकै युद्धविराम थप ७ हप्ता बढाउन सहमत भएको थियो।
त्यसमा हमासले अस्वीकार गरेपछि गजामा मानवीय सहायताका लागि जाने सवारी साधनहरूलाई जान दिएको छैन।