रूसले युक्रेनी भूभागमा मिसाइल र ड्रोन आक्रमण गरेको छ।
शुक्रबार राति युक्रेनी भूभागहरुको रूसले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण गरेको युक्रेनको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
युक्रेनको डोब्रोपिलिया सहर र खार्किब प्रान्तको वस्तीमा रूसले मिसाइल,ड्रोन र रकेटले आक्रमण गरेको हो।
आक्रमणमा परी १४ जनाको मृत्यु भएको युक्रेनको गृह मन्त्रालयले जनाएको छ। आक्रमणमा परी ३७ जना घाइते भएको बताइएको छ।
मन्त्रालयका अनुसार रुसी आक्रमणबाट डोब्रोपिलियाको पश्चिम सहरमा ८ तले भवन र ३० वटा सवारी साधनमा क्षति पुगेको थियो। आक्रमणमा पाँच बालबालिका सहित ११ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन्।
मृत्यु भएकामध्ये ५ जना बालबालिका छन्।
त्यस्तै खार्किभको मानव वस्तीमा भएको ड्रोन आक्रमणमा परि ३ जनाको मृत्यु र ७ जना घाइते भएका छन्।
घटनापछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमण गर्न नछाडेका कारण युक्रेनमा प्रतिरक्षा प्रणाली बढाउनुपर्ने र रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।
शुक्रबार रूसले युक्रेनको ऊर्जा र ग्यास भण्डारमा मिसाइल दागेको थियो। अमेरिकाले यसलाघ युक्रेनलाई दिएको सैन्य सहायता रोकेपछिको पहिलो ठूलो आक्रमण भनिएको छ।
डोब्रोपिलियामा पछिल्लो सातायता रूसले आक्रमण गरिरहेको रोयटर्सले जनाएको छ। त्यहाँ युद्धअघि झन्डै २८ हजार मानिसहरूको बसोबास थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहायता तत्कालका लागि रोक लगाइदिएपछि रूस थप हौसिएर आक्रमण गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। सैन्य सहायता मात्रै होइन पछिल्लो समय ट्रम्पले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान रोकेको थियो।
युक्रेनमा युद्ध अन्त्यका लागि साउदी अरबमा अमेरिकी र रूसबीच वार्ता भएको थियो।
वार्ता जारी रहँदा रूसले युक्रेनमाथि आक्रमण गर्न नछाडेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई कडा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन्।
उनले दुवै पक्षलाई धेरै ढिला हुनुअघि नै वार्ता टेबलमा बस्न चेतावनीसमेत दिएका थिए।
ट्रम्पले एक हप्ताअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसको ओभल अफिसमा भएको भनाभनपछि युक्रेनलाई दिइने सैन्य सहायता र गुप्तचर जानकारी आदान-प्रदान रोकिदिएका थिए। उनले युक्रेनलाई युद्धविराम सम्झौतामा सहमत हुन निरन्तर दबाब दिँदै आएका छन्।
ट्रम्पले यसपालि रूसमाथि दबाब बढाउँदै भनेका छन्, 'म रूसमाथि ठूलो स्तरको बैंकिङ प्रतिबन्ध, अन्य प्रतिबन्ध र भन्सार शुल्क लगाउने विषयमा गम्भीर रूपमा विचार गरिरहेको छु। युद्धविराम र अन्तिम शान्ति सम्झौता नहुँदासम्म यो प्रक्रिया जारी रहनेछ।'
दुवै मुलुकलाई वार्ताको टेबलमा आउन आह्वान गर्दै उनले भनेका छन्, 'रूस र युक्रेन, तुरून्तै वार्ता टेबलमा आओ। ढिला नगर। धन्यवाद!'
ट्रम्पले युक्रेनप्रति कडा र रूसप्रति नरम नीति अपनाएको भन्दै आलोचना खेपिरहेका छन्। रूस-युक्रेन युद्ध सुरू भएकोमा उनले केही हप्ताअघि युक्रेनलाई दोष दिएका थिए।
युक्रेनमा सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण गरेपछि, संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूले सयौं प्रतिबन्ध लगाएका छन्।
रूस विश्वको प्रमुख तेल उत्पादकमध्ये एक हो। रूसको तेल अरू मुलुकले किन्दा प्रति ब्यारेल ६० डलरभन्दा बढीमा किन्न नपाइने बन्देज अमेरिका लगायत पश्चिमा मुलुकले लगाएका छन्। जबकि बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल योभन्दा धेरै पर्छ।