नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हिमोफोलियाका बिरामीलाई सरकारले औषधि उपलब्ध गराउनुपर्ने बताएकी छन्।
यस्तो बिरामीको संख्या नेपालमा चार हजार ९ सय जनाभन्दा बढी रहेको तर स्वदेशमै औषधि खरिद गर्नसमेत नपाइने अवस्था रहेको उनको भनाइ छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले भनिन्, ‘सरकारले मानव अधिकार र नेपालको संविधानले नै सुनिश्चित गरेको नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी हिमोफोलियाका रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टीहेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्नो नागरिकको जीवन बचाइदिन सभामुख मार्फत जोडदार माग गर्दछु।’
पछिल्लो २ महिनामा हिमोफोलियाका दुई जना बिरामीको मृत्यु भएको उनको भनाइ छ।
‘बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन। बाहिरबाट ल्याउनुपर्छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा हेमोफिलियाको रोगीको संख्या ४,९३७ जना रहेका छन्,’ उनले भनिन्।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन२०७४ र नियमावली २०७७ ले समेत दश वर्गका अपाङ्गताभित्र हिमोफिलियालाई पनि एउटा वर्गमा समेटेर यो रोगको रोगीले नियमित प्रयोग गर्नुपर्ने, औषधि सम्बन्धित स्थानीय तह मार्फत नि:शुल्क उपलब्ध गराउने भन्ने व्यवस्था रहेको उनको भनाइ छ।
तर राज्यद्वारा औषधिको व्यवस्था हुन नसक्दा बिरामीले पीडा भोगिरहेको उनले बताइन्।