सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले उदार लोकतन्त्र भएको नेपालमा पूर्वराजालाई सुरक्षाको प्रबन्धसमेत गरेर राखिएको बताएका छन्।
अन्यत्र भए व्यवस्था बदलिएपछि सम्पत्ति हरण गरी जेलमा राख्ने इतिहास भएको उनको भनाइ छ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै मन्त्री गुरूङले राजनीतिक दलहरूमाथि कटाक्ष गर्दै फेरि फर्कन्छु भन्ने हर्कत गर्नु आफ्नो हैसियत भुलेको हुने बताए।
‘हाम्रो मुलुक उदार लोकतन्त्र भएको मुलुक हो। अरूजस्तो मुलुकमा भएको भए जनतालाई दु:ख दिने त्यस्तो परिवार, राजसंस्था र व्यक्तिहरूलाई त्यो शासन प्रणाली उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो, तिनका सम्पत्ति राज्यले हरण गर्नुपर्ने हो, दुनियाँमा त्यही छैन इतिहास?,’ शुक्रबार मन्त्रालयमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरूङले भने, ‘सुरक्षाको प्रबन्ध गरेर हामीले नागार्जुन दरबारमा राखेका छौं। आज उनी त्यस्तो प्रबन्ध गर्ने राजनीतिक दलहरूलाई कटाक्ष गर्दै म फेरि फर्कन्छु भनेर जुन खालका हर्कत गरिरहेका छन्, योचाहिँ उसले आफ्नो हैसियत भुलेको हो। हामीले गरेको उदार प्रबन्धलाई भुलेको हो।’
उनले राजा आऊ, देश बचाऊ भन्नेहरूलाई लक्ष्य गर्दै राजाले कसरी देश बचाउँछन् भन्ने प्रश्न गरे।
‘आफ्नो ज्यानको रक्षा गर्ने, दरबारको रक्षा गर्न नसक्ने राजतन्त्र र परिवारको रक्षा गर्न नसक्ने राजसंस्था र सबै कानुन हातमा लिएको राजसंस्था,’ उनले भने, ‘राजावादी यसरी मच्चिँदै हिँड्दैमा राजा फर्किहाल्छ भन्ने लाग्दैन।’
उनले राजतन्त्र फर्कने कल्पना गर्नेहरू मुर्ख, समाज र लोकतन्त्र विरोधी भएको पनि बताए।
भिडिओ: