बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओली र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्री पौडेलले पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।
यसमा उनीहरूले केही कारण दिए।
लिङ्देनले प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन पनि सार्वजनिक भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले नै उत्तीर्ण हुने अङ्क नल्याएको बताए।
‘कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई कसले कारबाही गर्ने? सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्यो,’ उनले भने, ‘आफूलाई मन लागेको जे पनि गर्ने, निरीह कर्मचारीलाई डण्डा चलाउने?’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य सचिव नियुक्तिका विषयको प्रसंग निकाल्दै स्वास्थ्य मन्त्री पौडेललाई बर्खास्त गर्न माग गरेका हुन्।
मन्त्रिपरिषदको बुधबारको बैठकले स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो।
स्वास्थ्य सचिव पदका लागि पहिलो नम्बरमा डा. संगीता मिश्रको नाम सिफारिस भएको भन्दै सिंहले मन्त्री पौडेललाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।
डा. मिश्र मधेसीको आस्थाको एउटा प्रतीक रहेको उनको भनाइ थियो।