काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नै काम गर्ने वातावरण बनाउन भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आग्रहलाई अस्वीकार गरेको छ।
मन्त्रालयले महानगरमा यसअघि कै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण बनाउन पत्र काटेको थियो। त्यसको जवाफमा महानगरले गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन नसकिने बरू निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन आग्रह गरेको हो।
'स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालनमा सहयोग गर्न सकिन्छ,' जबाफमा भनिएको छ।
महानगरले प्रमुख प्रशासकीय अधिकृतमा पुन गुरागाईंलाई नै हाजिर गराए काठमाडौं टावर लगायत अन्य काममा पनि नकारात्मक प्रभाव पर्ने दाबी गरेको छ।
काठमाडौं टावरको नक्सा पास गर्ने निर्णय एकलौटी गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा गत पुस ८ गतेदेखि एक साताका लागि बिदामा बसेका थिए। पछि कार्यालय जान खोज्दा मेयर बालेनका सचिवालयमा रहेकाहरूले गाडीको चाबी खोसिदिने गर्न थालेपछि उनी कार्यालय जान छाडेका थिए।

महानगरले भवनसंहिता र भवन मापदण्डविपरीत हुनेगरी त्रुटिपूर्ण काम गर्नेलाई नै पुनः प्रशासकीय अधिकृतमा हाजिर गराउन नहुने जवाफ मन्त्रालयलाई दिएको छ।
'विचाराधीन रहेको विषयमा त्रुटीपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराए सो परियोजना लगायत अन्य कार्यहरु समेतमा नकारात्मक प्रभावका साथै कानूनी संकट पर्न सक्छ...,' जबाफमा भनिएको छ।
यो पनिः
संघीय मामिलाले काठमाडौं महानगरलाई भन्यो- सरोज गुरागाईंले काम गर्ने वातावरण बनाउनु