ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काले एउटा कर्मचारीलाई काँधमा बोकेर नहिँड्न सांसदहरूलाई अनुरोध गरेका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिइएको विषयमा संसदमा जवाफ दिँदै मन्त्री खड्काले कर्मचारीलाई काँधमा नबोक्न सांसदहरूलाई अनुरोध गरेका हुन्।
'गाउँघरमा भनाइ छ; बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ। त्यस्तै नहोस्,' उनले भने।
मन्त्री खड्काले कुलमानको विषयमा जति खोतल्यो उती नै भ्वाङ पर्ने पनि बताए।
'सबैले राम्रो काम गर्नुभएको छ भन्नुभयो, होला भनेर म पनि उहाँसँग खुशी नै थिएँ, उत्साहित नै थिएँ। तर जति खोतल्यो उति भ्वाङ पर्छ,' उनले भने।
यसबारेमा अहिले प्रमुख प्रतिपक्षी रहेको दलका ठूला नेतालाई पनि थाहा भएको मन्त्री खड्काले दाबी गरे।
'उहाँहरूलाई राम्रो ज्ञान छ। खुलेर नभन्नुभएको मात्रै हो। उहाँहरूलाई पनि खुलेर भन्न आग्रह गर्छु,' मन्त्री खड्काले भने।
उनले राम्रो कामका लागि पुरस्कृत गर्न पनि आफू तयार भएको बताए। तर राष्ट्रपतिदेखि जनतासम्म सबैले नियम कानुन मान्नुपर्ने विद्युत प्राधिकरणका एउटा कर्मचारीले नियम कानुन मान्नु नपर्ने नहुने बताए।
आफू मन्त्री भएपछि पनि राम्रो काम गरे पूर्ण सहयोग गर्ने भनेर पटकपटक भनेको मन्त्री खड्काले बताए।
'बीसौं पटकभन्दा बढी भनेँ। छलफल नगरेको होइन। मसँग उहाँको व्यक्तिगत केही छँदै छैन,' उनले भने।