बेलायत र फ्रान्सले रूस-युक्रेन युद्ध अन्त्य गर्ने योजना बनाएका छन्।
दुई देशले युद्धरत युक्रेनसँग मिलेर तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि युक्रेनसँग मिलेर बनाएको योजना करिब करिब अन्तिम चरणमा पुगेको दुई युरोपेली नेताहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
उनीहरूले त्यो योजना छिट्टै अमेरिकालाई पठाउने बताएका छन्। 'एक साता पनि लाग्दैन, अब केही दिनमै त्यो योजना तयार हुन्छ,' एक नेताले रोयटर्ससँग भनेका छन्।
अर्का नेताले अमेरिका र युक्रेनबीच सौहार्दपूर्ण सम्बन्ध बनाउने गरी युद्ध अन्त्यको योजना बनेको बताए।
त्यो योजनामा के छ भन्नेबारे खुलिसकेको छैन। यद्यपि सैन्यसँग सम्बन्धित विषयमा सेना प्रमुखहरूले छिट्टै अन्तिम रूप दिन एक युरोपेली कुटनीतिज्ञले बताए।
युद्ध रोक्ने योजना बनाउँदा त्यसमा रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर प्रत्याभूति दिन अमेरिकाको पनि सहभागिता हुनुपर्ने उनीहरूको भनाइ छ।
रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले साउदी अरबमा रूससँग वार्ता चलाइरहेको छ। उक्त वार्तामा अमेरिकाले युक्रेनलाई भने समेटेको छैन।
रूससँगको वार्तामा अमेरिका मात्रै बस्दा डोनाल्ड ट्रम्पले रूसलाई फाइदा हुनेगरी सहमति गर्लान् भन्ठानेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की गत हप्ता ट्रम्पलाई भेट्न ह्वाइट हाउस गएका थिए।
त्यहाँ ट्रम्पले भन्दै आएको खनिज सम्झौतामा हस्ताक्षर हुने भनिएको थियो। राष्ट्रपतिस्तरीय छलफलमा ट्रम्पका उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गरेपछि ओभल अफिसमा ट्रम्प, जेलेन्स्की र भान्सबीच चर्काचर्की भएको थियो।
त्यसपछि ट्रम्पले खनिज सम्झौता नै नगरी जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निस्कन आदेश दिएका थिए।
त्यो घटनापछि अमेरिका र युक्रेनबीच बिग्रिएको सम्बन्ध सुलह गर्न विशेषगरी बेलायत र फ्रान्सले लगातार प्रयत्न गरिरहेको छ।
उनीहरूले अमेरिकी र युक्रेनी अधिकारीहरूबीच छिट्टै हुने भनिएको वार्ता अघि नै युद्ध अन्त्यको योजना अमेरिकालाई पठाउने बताएका छन्।
यो पनिः अमेरिका र युक्रेनबीच निकट भविष्यमै वार्ता हुने
यसबीच फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रों र बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले ट्रम्प र जेलेन्स्कीसँग लगातार कुराकानी गरिरहेका छन्।
स्टार्मर र म्याक्रों दुवैले गत साता ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका थिए।
त्यसैले चर्काचर्कीपछि पनि ट्रम्प र जेलेन्स्कीको सुलह गराउन सकिनेमा उनीहरू आशावादी छन्। चर्काचर्कीपछि ट्रम्प आफैले सामाजिक सञ्जालमा गरेको पोस्टको अन्त्यमा 'शान्तिका लागि जेलेन्स्की तयार भएपछि फिर्ता आउन सक्ने' भनेका छन्। यसले पनि सुलहको ढोका अझै बन्द भइनसकेको कतिले तर्क गरेका छन्।
सुलहबारे फ्रेन्चभन्दा पनि बेलायती अधिकारी अझ धेरै आशावादी देखिन्छन्।
युरोपियन युनियन अमेरिकालाई नोक्सान गर्न बनाइएको संस्था ठान्ने ट्रम्प ब्रेक्जिटपछि युरोपियन युनियनबाट बाहिरिएको बेलायत प्रति त्यति वैरभाव राख्दैनन्। ट्रम्पकी आमा स्कटल्यान्डमा जन्मेकाले बेलायत उनको मावली देश हो। र, उनी बेलायती राजपरिवारको शान-शौकतको इज्जत गर्छन्।
त्यही बुझेर अमेरिका भ्रमणको बेला स्टार्मरले ट्रम्पलाई बेलायतको राजकीय भ्रमण गर्न राजा चार्ल्सको तर्फबाट हस्त-लिखित निमन्त्रणा दिएका थिए। बेलायतको राजासँग (वा रानी) दुईपटक राजकीय भेट गर्ने अवसर पाउने ट्रम्प पहिला विदेशी सरकार प्रमुख हुनेछन्।
यी सब कारणले ट्रम्प र जेलेन्सकीको सुलह गराउने मात्रै नभएर, युक्रेन-रूस युद्ध रोक्न ट्रम्पले थालेको वार्तामा युरोपको तर्फबाट स्टार्मर सहभागी हुने भनेर बेलायतीहरू विश्वस्त देखिन्छन्।
युक्रेन र युरोपेली देशका कुनै प्रतिनिधि बिना साउदी अरेबियाको राजधानी रियादमा फेब्रुअरी १८ मा अमेरिका र रूसले वार्ता गरेका थिए। ट्रम्पले पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच साउदी अरेबियामा वार्ता हुने घोषणा गरेका थिए। सो वार्तामा युक्रेन र युरोप दुवैको प्रतिनिधित्व हुनुपर्ने भनेर युरोपेली देशहरूले माग गर्दै आएका छन्।
जेलेन्स्कीले सार्वजनिक रूपमा माफी मागे सुलह गर्न तयार रहेको सन्देश ट्रम्पका अधिकारीले युरोपेली देशहरूलाई पठाएको भनेर कति पश्चिमा मिडियाले लेखेका छन्।
ट्रम्प आफैले पनि जेलेन्स्कीलाई तानाशाह भनिसकेपछि 'मैले त्यसो भनेको थिएँ र?' भन्दै आफ्नो आरोप फिर्ता लिइसकेका छन्। त्यसैले जेलेन्स्कीले पनि राष्ट्रहितमा ट्रम्पसँग माफी मागे अचम्म हुने छैन। चर्काचर्कीपछि अमेरिकाका केही ठाउँमा समेत युक्रेनको समर्थनमा प्रदर्शन भएको छ। त्यसैले युक्रेनलाई चटक्कै छाडी नहाल्न थोरै भए पनि ट्रम्पमाथि दबाब हुनेछ।
ट्रम्पले सुलह गरेर युक्रेनलाई सहायता दिइराख्न राजी भए पनि, नभए पनि, केही घण्टापछि लन्डनमा हुने युरोपेली नेताहरूको सम्मेलनमा रक्षा खर्च बढाउन स्टार्मरले आग्रह गर्ने बुझिएको छ।
बेलायतले युक्रेन र समग्र युरोपको सुरक्षाका लागि वैदेशिक सहयोगको बजेट काटेर रक्षा खर्च बढाउने घोषणा गरिसकेको छ। अमेरिकाले साथ छोडे पनि युक्रेनलाई रूससँग लड्न सहयोग गर्न युरोपेली देशहरूले रक्षा खर्च बढाउनुपर्ने तर्क स्टार्मरले गर्ने अनुमान छ।
स्टार्मर र म्याक्रोंले मुख्यतः अमेरिकालाई मनाएरै संयुक्त रूपमा युक्रेनलाई सहयोग गर्नेमा जोड दिने अपेक्षा गरिएको छ। युरोपेली देशहरूले रक्षा खर्च बढाए ट्रम्प प्रशन्न भएर अमेरिकी सहायता जारी राख्न मान्ने सम्भावना अझै बढ्ने स्टार्मरको आशा छ।