नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए नेपाल समृद्ध बन्न सक्ने बताएका छन्।
यो कुरा देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहीबार आयोजित भूतपूर्व सैनिक संघको छैटौं केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा भनेका हुन्।
‘लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ। सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुन्छ, कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्न सक्छ, यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ,’ उनले भने।
सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए।
गोर्खा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने उनले प्रतिबद्धता जनाएका छन्।
उनले प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूले महत्त्वपूर्ण योगदान गरेको पनि बताए।