प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
झापाका खरेल संविधानसभा सदस्य हुन्। उनी अहिले एमालेको स्थायी कमिटी सदस्य छन्।
पूर्वमहान्यायाधिवक्तासमेत रहेका उनी ओलीको पहिलो कार्याकालमा कानुनमन्त्री पनि भएका थिए।
विज्ञ सल्लाहकारले राज्यमन्त्री वा सोसरह सुविधा पाउँछ।
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । हाल उनी स्वास्थ्य सेवा विभागका महानिर्देशक छन्।
त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको ती मन्त्रीले जानकारी दिए।