अमेरिकी र युक्रेनी अधिकारीहरूले निकट भविष्यमै भेटवार्ता गर्ने सहमति गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कर्मचारी प्रमुख एन्ड्री यर्मार्कले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सुरक्षा सल्लाहकार माइकल वाल्जसँगको टेलिफोन वार्तापछि दुई देशका अधिकारीहरूबीच चाँडै भेटवार्ता गर्ने सहमति भएको बताएका हुन्।
टेलिफोन संवादमा युक्रेनमा शान्ति स्थापनाका लागि आगामी कदमहरूबारे कुराकानी भएको भनेर वाल्जले बताएको अमेरिकी मिडिया सिएनएनले लेखेको छ।
'हामीले सुरक्षाका सवाल र दुई देशबीचको सम्बन्धबारे एकअर्कको दृष्टीकोण राख्यौं। शान्ति स्थापना गर्ने महत्त्वपूर्ण विषयमा काम गर्न दुई देशका अधिकारीहरूबीच चाँडै भेट्ने विषयमा सहमत भएका छौं,' उनले भनेका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि आफ्नो नियमित सम्बोधनहरूमा अमेरिका र युक्रेनबीच छलफलका लागि वातावरण बनाउने काम भइरहेको बताएका छन्। उनले अर्को सातासम्ममा त्यो प्रयासले मूर्त रूप लिनसक्ने बताएका छन्।
'कुटनीतिक प्रयासहरू कति द्रूत गतिमा भइरहेका छन् भनेर सबैले देख्नुभएकै छ,' जेलेन्स्कीले भनेका छन्, ' त्यसमा एकदमै सकारात्मक प्रगति भएको छ।'
यसअघि गत शुक्रबार खनिज सम्झौताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्कीको ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की परेपछि दुई देशको सम्बन्धमा संकट पैदा भएको थियो।
चर्काचर्कीको ७२ घन्टा नबित्दै ट्रम्पले युक्रेनलाई रूसविरूद्धको लडाईंमा गर्दै आएको सैन्य सहायता अस्थायी रूपमा रोकिसकेका छन्।
ट्रम्पले नै मंगलबार खनिज सम्झौताका लागि जेलेन्स्की पुनः तयार भएको भनेर पत्र पठाएको अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दा भनेका थिए। उनले त्यसलाई जेलेन्स्कीको प्रशंसनीय काम पनि भनेका थिए।