पूर्वराजाको स्वागतमा जान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वनिर्धारित आमसभा नै स्थगित गर्ने निर्णय गरेको छ।
राप्रपाको बुधबार बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा स्वागतमा जान भन्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार फागुन २५ गतेका लागि काठमाडौंमा आयोजना गर्न लागिएको आमसभा स्थगित गर्ने निर्णय भएको छ।
‘पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै फागुन २५ गते काठमाडौंमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, देशभर भइरहेका पार्टीका कार्यक्रम एवं संगठन निर्माणको अवस्थाबारे पनि समीक्षा भएको थियो।
पूर्वराजा ज्ञानेन्द्रबाट गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक भएको सन्देशको राप्रपाले स्वागत पनि गरेको छ।
संवैधानिक राजसंस्था पुन:स्थापनाको प्रमुख लक्ष्य बोकेको राप्रपाले राजाको सम्बोधनमा अन्तर्निहित राष्ट्र रक्षाको भावनाप्रति आम नागरिकलाई जागरुक तुल्याउन एवं एकताबद्ध गर्न देशभर विभिन्न कार्यक्रम गरिरहेको पनि बताएको छ।