प्रतिनिधि सभाको बुधबारको बैठकमा अध्यादेशबारे छलफल भएको छ।
अध्यादेश अस्वीकार गर्न विरोधका सूचना दिएका विपक्षी दलका सांसदहरूले अध्यादेशका विषयवस्तुलाई लिएर विरोध गरे।
जबाफ दिन पुगेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले भने अध्यादेशको विरोध गर्ने सांसदहरूलाई लक्ष्य गर्दै आफू सत्ता पक्षमा हुँदा अध्यादेशका पक्षमा गरेको वकालत हेर्न आग्रह गरे।
सहकारीसहित ६ अध्यादेश सरकारले ल्याएको थियो। भूमिबाहेक अध्यादेश बुधबार प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्ने तयारी छ।
मन्त्री गुरूङले सरकारले ल्याएका अध्यादेशमा आफूहरूले फूलैफूल देखेको बताए।
‘यो अध्यादेश त दुर्गालाल श्रेष्ठको एउटा गीत सम्झन्छु मैले, फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार,’ मन्त्री गुरूङले भने, ‘उहाँहरूले काँडैकाँडा देख्नुभएको छ, हामीले फूलैफूल देखेका छौं।’
प्रतिपक्षले विरोध गर्न कर भए पनि अध्यादेशमा कहाँ विरोध गर्ने भनेर खोज्ने अवस्था रहेको उनको भनाइ छ। अध्यादेशको विरोधमा ७ जना सांसदले धारणा राखेका थिए।
रास्वपा सांसद सुमना श्रेष्ठले नागरिक एप र डेटा सुरक्षाबारे प्रश्न उठाएकी थिइन्।