नारायणमान बिजुक्छेलाई फेरि अध्यक्ष चयन गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन सकिएको छ।
अध्यक्ष चयन भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै ८५ वर्षीय बिजुक्छेले पार्टीमा युवाहरूलाई काम दिन पनि आफूले नै नेतृत्व सम्हाल्नुपरेको बताए।
बिजुक्छे पार्टी स्थापनाकालदेखि अनवरत रूपमा नेतृत्वमा छन् त्यो पनि सर्वसम्मत रूपमा।
नेमकिपा वि. सं. २०३१ माघ १० गते स्थापना भएको थियो। यो पार्टी स्थापना भएको ५० वर्ष पुगेको छ। पाँच दशकसम्म पनि नेतृत्वमा भने उनै बिजुक्छे चयन भइरहेका छन्।
२०७४ को आम निर्वाचनमा बिजुक्छेले संसदीय राजनीतिबाट विश्राम लिएका थिए। त्यसैले अब उनले पार्टी नेतृत्व पनि छाड्नेछन् भन्ने कतिपयलाई लागेको थियो।
तर फागुन १६ गतेदेखि सुरू भएर मंगलबार सकिएको आठौं महाधिवेशनबाट पुन: बिजुक्छे अध्यक्षमा चयन भएका हुन्।
संसदीय राजनीति यात्रा छाडेर त्यागको नमूना प्रस्तुत गरे पनि पार्टीले आवश्यकता महसुस गरेर वा उत्तराधिकारी तयार नभएर फेरि अध्यक्ष बन्नु भएको हो भन्ने प्रश्नमा बिजुक्छेले पार्टीकै आवश्यकताले भन्ने दर्साए।
‘साथीहरूले अब नयाँ नयाँ साथीहरूलाई काम दिने, तपाईं यहाँ समालिदिनुस् भन्नुभयो,’ बिजुक्छेले भने, ‘नत्र हामीसँग कार्यकर्ता कम छ। नयाँ साथीहरूलाई नयाँ ठाउँमा पठाइदिनुपर्छ भन्ने उहाँहरूको भनाइ हो। नयाँ मानिस आएपछि के होला कसो होला भन्ने पनि भयो होला। कार्यकर्ता कम भएरै त्यस्तो भएको हो हाम्रो पार्टीमा।’
उनले पार्टीमा रहेका युवाहरूलाई प्रदेशलगायत ठाउँमा परिचालन गरिने बताएका छन्।
‘म त दुई चार दिन दौडिन्छु फेरि एक दुई दिन आराम लिन्छु, त्यो उमेरको रोग जसलाई पनि हुन्छ। तर जहिलेसम्म सकिन्छ त्यस बेलासम्म संघर्ष गर्ने जनताको सेवा गर्ने हो,’ उनले भने, ‘पहिलेभन्दा हाम्रो साथीहरू अझै सक्रिय भएर देश र जनताको सेवा गर्नेछन्। प्रदेशमा हामी त्यति सक्रिय थिएनौं अहिले प्रदेशमा समिति बनेको छ, अब पार्टी विस्तार हुनेछ र त्यसले त्यहाँका जनतालाई राजनीतिक रूपले सचेत गर्नेछौं।’
आफूले पार्टी नेतृत्व सम्हालिदिएपछि युवाहरूले काम गर्न पाउने पनि उनले जिकिर गरेका छन्।
साथै उनले राजनीतिमा लागेर आफूलाई कुनै पश्चाताप नभएको बताए।
‘१४ सालदेखि नै पार्टीमा लागेको हो, मलाई केही गुनासो पनि छैन। पार्टीमा लागेर बिग्रियो भनेर केहि केहिले भन्छन् तर मलाई पश्चाताप पनि छैन,’ उनले भने।
बिजुक्छे २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा भक्तपुर १ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।
यो क्षेत्र उनले छाडेपछि नेता प्रेम सुवाल उठ्दै जित्दै आएका छन्। महाधिवेशनले पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई चयन गरेको छ।
केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन भए।
यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही केन्द्रीय सदस्य चयन भएका छन्।
महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ।