नेपाल पानी जहाज कार्यालयका कायममुकायम रजिष्टार मणिराम भुषालले कानून अभावको कारण आन्तरिक जलमार्ग नियमन गर्न नसकिएको बताएका छन्।
मंगलबार राष्ट्रिय सभाअन्तर्गको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले नेपालको जलयात्रा नियमन तथा जलयानसम्बन्धी उद्योगहरूको दर्ता गर्नको लागि कानून निर्माणमा ढिलाइ गर्न नहुने बताए।
उनले आन्तरिक जलयान दर्ताको काम सुरू नहुँदा पानी जहाज कार्यालयलाई थ्रेट रहेको बताए।
उनले आन्तरिक जलयात्राको लागि सबभन्दा ठूलो समस्या वनहरूको रहेको बताए।
उनले सामुदायिक वनहरू जलमार्ग आफ्नै सोच्ने भएको कारण अवरोध सिर्जना हुनसक्ने उल्लेख गर्दै यसको समाधान गर्न जरूरी रहेको बताए।
उनले पानीजहाज विधेयकमा पानीजहाज उद्योगहरूमा कम्तीमा पनि ६० प्रतिशत नेपाली कामदार राख्न पाउनुपर्ने व्यवस्था राख्न सुझाव दिए।
उनले विश्वका विकसित देशहरूले रकेट उडाउने तयारी गरिरहँदा नेपालजस्ता विकासशील देशहरूले जलयानको माध्यमबाट समृद्धि ल्याउन सकिने बताए। यद्यपि कानूनी विज्ञहरूको संगठनबिना विधेयकमा काम गर्न नसकिने उनको जिकिर छ।
उनले भने, ‘आन्तरिक जलयात्रा नियमनको लागि उहाँले भन्नुभयो, ‘नेपालमा जति बढी पानीजहाज उद्योगहरू दर्ता भयो त्यति नै हामीलाई फाइदा हुन्छ। अझै त्यसमा काम गर्ने मान्छे ५०, ६० प्रतिशत नेपाली हुनुपर्छ भन्यौं भने नेपाली नागरिकले रोजगारी पनि पाउँछ। एकदमै सम्भावना भएको क्षेत्र हो के यो। ठूला देशहरूले रकेट उडाउने तयारी गरिरहेका बेला नेपालजस्ता विकासशील राष्ट्र जलयानको माध्यमबाट फाइदा उठाउन सकिन्छ। पानी जहाजको ज्ञान नभएको ठूलो टिम नहुने हो भने यसमा काम गर्न सकिँदैन। त्यसकारण हामीले यो ऐनअन्तर्गत दुई वटा नियमावली बनाउने प्रयास गरेका छौं। एउटा, आन्तरिकको लागि र अर्को बाह्यको लागि। नेपालभित्रको लागि हाम्रै कानून भइहाल्यो बाहिरको लागि आइएलओका ५६ महासन्धीमध्ये हामीले पानी जहाज चलाउनका लागि आठ, दश वटा त कार्यान्वयन गर्नैपर्छ। नेपालको आन्तरिक जलयात्राको लागि हामीले छिट्टै काम गर्नुपर्नेछ। नागरिकलाई नागरिक परिचयत्र र आन्तरिकको लागि दर्ता नगर्ने हो भने पानी जहाज कार्यालयलाई सुरक्षा थ्रेट हुने बेला भइसक्यो। आन्तरिक जलयात्राको लागि सबभन्दा ठूलो अवरोध वनको हुँदो रहेछ। किनभने वनहरूले त्यो जलमार्ग हाम्रै हो भन्नुहुँदो रहेछ। यसलाई समाधान गर्नुपर्ने देखिन्छ।’
बैठकमा बोल्दै श्रम तथा व्यवसायजन्य विभागका निमित्त महानिर्देशक विपिन राज भण्डारीले विदेशी जहाज भाडामा लिएर नेपालको झण्डा राखेर चलाउन नपाउने बताए।
सांसदहरूले राखेका जिज्ञासाहरूको जबाफ दिँदै उनले कुनै पनि देशको झण्डा त्यसको प्रतिक भएको कारण नेपालमा दर्ता नभएका पानीजहाजमा नेपालको झण्डा राखेर चलाउन नपाइने बताए।
उनले भने, ‘विदेशी जहाज नेपालले भाडामा लिएर नेपालको झण्डा राखेर चलाउन पाइँदैन। झण्डा भनेको हाम्रो देशको प्रतिक हो। त्यसैले विदेशमा दर्ता भएको जहाज नेपालमा फेरि दर्ता गर्न पाउँदैन। नेपालमा दर्ता भएको जहाजमा मात्र झण्डा राखेर चलाउन पाइन्छ।’
बैठकमा मंगलबार पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय लगायतका निकायहरूसँग छलफल गरिएको छ। —न्युज एजेन्सी नेपाल