नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागरिक उन्मुक्ति पार्टीलाई माओवादीमा समाहित हुन आह्वान गरेका छन्।
रेशम चौधरी संस्थापक सल्लाहकार र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नाउपालाई माओवादीमा समाहित हुन प्रचण्डले आह्वान गरेका हुन्।
उनले रेशम चौधरीलाई आफू प्रधानमन्त्री भएका बेला रिहा गर्ने निर्णयमा पुगेको पनि बताए।
‘नाउपा माओवादीमा समाहित हुनुस् र विगतमा माओवादीमा रहेर हाल अन्य दलमा पुगेका थारू अगुवाहरूलाई पनि मूल घरमै फर्केर थारू अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुनुहोस्,’ मंगलबार कैलालीको टीकापुरमा थारू राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले भने।
माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको उनले बताए।
अहिले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा भइरहेको उनको दाबी थियो।
‘भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, त्यस्तो सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं,’ उनले भने।
जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलो पटक धारणा स्पष्ट गरेको उनले बताए।
‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियो। हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ। अब हामीले निष्कृय रहेका मोर्चाहरूलाई समेत ब्युँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं,’ उनले भने।
उनले माओवादीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरेर थारु समुदायका बाँकी अधिकार पनि संस्थागत गर्दै लैजाने बताएका थिए।