आफूले अघि सारेको प्रस्तावमा असहमति जनाएको भन्दै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र एक जना वडाध्यक्षको गाडीको चाबी खोसेका छन्।
मंगलबार गाउँपालिकाको कार्यपालिका बैठकमा अध्यक्ष माझीले विभिन्न ६ प्रस्ताव प्रस्तुत गरेको र त्यसमध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन्।
‘दुइटा प्रस्तावमा हामीले असहमति जनाएपछि अध्यक्षले प्रस्तावमा सहमति नजनाउने भए गाडी खोस्छु भनेर धम्की दिँदै चाबी खोस्नुभयो। अब हामी गाडी चढ्दैनौं, अब अध्यक्षलाई पनि गाडी चढन दिदैँनौं,’ उनले भनिन्।
उनकाअनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा एमाले र कांग्रेसका जनप्रतिनिधिले असहमति जनाएका थिए।
माझी गत मंसिरको उपनिर्वाचनबाट माओवादी केन्द्रबाट उमेदवार बनेर अध्यक्ष जितेका थिए।
माझीले वडा नम्बर २ का वडाध्यक्षले चढ्दै आएको मोटरसाइकलको चाबी पनि खोसेका छन्। ग्रामथानमा कांग्रेस र एमाले निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन्।
गाउँ कार्यपालिकामा कांग्रेस–एमालेको बहुमत छ।
बक्राहासहितका खोलाबाट अवैध उत्खनन् गराउन अध्यक्षको मिलेमतो रहेको उनीहरूको आरोप छ। उपाध्यक्ष चौधरीले भने अध्यक्षको मनोमानी बढेको बताएकी छन्।
‘उहाँ गाउँपालिका मेरो हो भन्नुहुन्छ, म चुनावबाट आएको तिमीहरू झ्यालबाट आएको भन्नुहुन्छ’, उपाध्यक्ष चौधरीले भनिन्, ‘उहाँको दादागिरी धेरै भयो।’
अध्यक्ष माझीले यस अघि अवैध उत्खनन् रोक्न भन्ने प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेका थिए भने केही दिन अघि मात्रै आफूखुसी कार्यपालिका बैठक गरेर निर्णय गरेका थिए।
उपाध्यक्ष चौधरी अदालत गएपछि उनको निर्णय कार्यान्वयन नगर्न आदेश भएको थियो।
अध्यक्ष माझीलाई यसबारे सोध्न फोन गर्दा उनले कुरा गर्न चाहेनन्।