काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने आरोपमाथि केन्द्रित रहेर मेयर बालेन शाहले जबाफ दिएका छन्।
मेयर शाहले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भनेर भ्रम फैलाउन खोजिएको उल्लेख गरेका हुन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै पछिल्लो समय काठमाडौं महानगरमा कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्नेमा मेयर शाहको ध्यान पुग्न नसकेको उल्लेख गरेका थिए।
‘काठमाडौं महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन,’ एमाले महासचिव पोखरेलले भनेका थिए।
एमाले महासचिव पोखरेलका आरोपमाथि लक्ष्य गर्दै मेयर शाहले सोमबार जबाफ दिएका छन्। यद्यपि मेयर बालेनले भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने भन्दै आफ्ना तर्फबाट प्रष्टीकरणसहित संघीय सरकारमाथि नै केही प्रश्न तेर्साएका छन्।
‘अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन्। ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो। के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर,’ मेयर शाहले भनेका छन्।
उनले भ्रष्टाचारमा जोडिएकाले प्रमुख प्रशासकीय अधिकृत महानगरले हटाएको दाबी गर्दै सरकारले के कारण हटायो भन्ने प्रश्न पनि गरेका छन्।
‘हामीले २ जना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उत्तिनै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाण्डौंमा असल कार्यकारी टिक्न सरकारले नै दिँदैन भन्ने अर्थ लाग्दैन र? यदि ती २ जनामध्ये कुनै एक कार्यकारी नहटाएको भए यो कुरा नै आउँदैन थियो त,’ उनको भनाइ छ।
उनले काठमाडौंमा कार्यकारी जान मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैरजिम्मेवार भनाइ रहेको पनि बताएका छन्।
‘सरकारले आफू मातहतका एकजना कर्मचारीलाई आवश्यकताअनुसार काममा लगाउन सक्ने रहेनछ भन्ने त यहाँबाट नै पुष्टि भयो। अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला। एउटा घातक उदाहरण त नवलपरासी पश्चिमको सामूहिक झडपले पनि देखाएको छ,’ मेयर शाहको भनाइ छ।
आफ्नो कर्मचारीमा नियन्त्रण नभएको, कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर हामीले पत्याइदिनु पर्ने भन्दै मेयर शाहले प्रश्नसमेत गरेका छन्।
तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकाले छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि प्रमुख प्रशासकीय अधिकृत पठाइने बताएका छन्।
काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न पूर्वसचिव शंकरप्रसाद पाण्डे नेतृत्वमा समिति गठन गरे पनि प्रतिवेदन सार्वजनिक गरेको छैन। मन्त्री गुप्ताका अनुसार महानगरले आजभोलिमै उक्त प्रतिवेदन सार्वजनिक गरेपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय हुनेछ।
‘मन्त्रालयको अप्ठेरो के छ भने त्यहाँ मन्त्रालयले नै खटाएको एक जना प्रमुख प्रशासकीय अधिकृत हुँदै हुनुहुन्छ, उहाँलाई नझिकी अर्को पठाउन मिल्दैन, महानगरले आजभोलिमा छानबिन प्रतिवेदन पनि सार्वजनिक गर्ला, त्यसपछि बिहीबारको मन्त्रिपरिषदमा लगेर निर्णय गराउँछौं,’ मन्त्री गुप्ताले सेतोपाटीसँग भने।
उनले सोमबार आफू गृहजिल्ला रहेको र मंगलबार मन्त्रालय पुगेर यसबारे बैठक गरी निर्णय गर्ने पनि बताए। उनले काठमाडौं महानगरमात्र नभई वीरगञ्ज र विराटनगर महानगरमा पनि प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको बताए। रिक्त स्थानमा खटाउन थप ३८ जना सहसचिव आवश्यक रहेको पनि उनले बताए।
काठमाडौं महानगरका मेयर बालेन शाहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिनका लागि समिति बनाएका थिए।
यो पनि: प्रशासकीय अधिकृत गुरागाईंमाथिको छानबिनबारे खुलाउन मन्त्रालयले लेख्यो काठमाडौं महानगरलाई पत्र