पहिलो चरणकै युद्धिवराम लम्ब्याउने प्रस्तावमा हमास सहमत नभएपछि इसराइलले गजामा मानवीय सहायता रोकेको छ।
माघ ५ गतेदेखि घोषणा भएको ४२ दिने युद्धविरामको अवधि शनिबार सकिएको थियो। गजामा दोस्रो चरणको युद्धविराम घोषणा हुने परिस्थिति नबनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विट्कफले इसराइललाई पहिलो चरणकै युद्धविराम लम्ब्याउने प्रस्ताव गरेका थिए।
विटकफको प्रस्तावलाई स्वीकार गर्दै इसराइल गजामा थप ७ हप्ता युद्धविराम लम्ब्याउन र बन्धक रिहाइलाई निरन्तरता दिन तयार भएका थिए।
यद्यपि हमासले भने दोस्रो चरणको युद्धविराम कार्यान्वयन माग गर्दै पहिलो चरणकै युद्धविराम लम्ब्याउने अमेरिकी प्रस्तावलाई अस्वीकार गरिरहेको छ।
त्यसकारण हमासलाई दबाब दिनका लागि इसराइलले गजामा मानवीय सहायता रोकेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको कार्यालयले पनि युद्धविराम लम्ब्याउन नमानेका कारण त्यहाँ मानवीय सहायताहरू पुर्याउन रोक लगाइएको जनाएको छ।
'पहिलो चरणको युद्धविराम लम्ब्याउने विट्कफको प्रस्ताव इसराइलले स्वीकार गरेपनि हमास तयार भएन। प्रधानमन्त्री नेतन्याहूले आज बिहानदेखि गजामा मानवीय सहायताका सबै सामग्रीहरू लैजान रोक लगाउने निर्णय गर्नुभएको छ,' प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हमासले अझै अस्वीकार गरिरहे थप कठोर कदम चाल्ने चेतावनी पनि नेतन्याहूको कार्यालयले दिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गजामा मानवीय सहयता रोकिन नहुने बताएका छन्।
दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौता थियो। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।
तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने भनिएको छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने भनिएको थियो।
गजामा युद्धविराम घोषणा भएपछि १० लाख बढी प्यालेस्टिनीहरू फर्किएका छन्।