रुपन्देहीमा पछिल्लो साढे ६ महिनामा व्यक्ति हत्याका ११ वटा घटना भएका छन्। पछिल्लो समय महिनैपिच्छे हत्याका घटना दोहोरिन थालेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तथ्यांक अनुसार गत भदौ महिना यता ११ जनाको हत्या भएको छ।
यो संख्या झण्डै अघिल्लो एकवर्र्षको तथ्यांक बराबर हो। प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रुपन्देहीमा १२ जनाको हत्या भएको थियो।
चालु आर्थिक वर्षमा भने भदौदेखि फागुन आधासम्म ११ जनाको हत्या भईसकेको छ। हत्या हुनेहरुमा ६ जना महिला र ५ जना पुरुष रहेका छन्। प्रहरीले हत्यापछि घटनामा संलग्नहरुलाई पक्राउ गरेपनि घटना दोहोरिन भने छोडेका छैनन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले अधिकांश हत्याका घटना सम्पत्ति र घरायसी विवादका कारण परिवार भित्रकै व्यक्तिबाट हुने गरेको छ। कतिपय घटना भने व्यक्तिगत रिसइबी, झैंझगडा र अन्य सम्बन्धका कारण समेत हुने गरेको कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार गत फागुन १७ गते मायादेवी गाउँपालिक वडा नं. २ डेङ्गचहवाका २९ वर्षीय राकेशसिंह लोधको हत्या पनि परिवारका सदस्यबाटै भएको प्रहरीको आशंका छ। यद्यपि प्रहरीले अहिलेसम्म उक्त घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।
गाउँमै खेती किसानी गर्दै आएका राकेश घरमा एक्लै बस्थे। राकेशको उनकै दाजु दीपक लोधसँग अंशको विवाद थियो। राकेशको हत्या कसले गरेको भन्ने एकिन नभएपनि दीपक भने अहिले फरार छन्।
गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डमा दाङको लमही नगरपालिका वडा नं. ७ की संगिता चौधरीको शव फेला पर्यो।
बुटवल उपमहानगरपालिका–११ कालिकापथमा साथीहरुसँग बसेर ज्याला मजदुरी गर्दै आएकी संगिताको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरि हत्या गरी सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो।
प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गर्दै जाँदा फागुन १६ गते तिलोत्तमा नगरपालिका–१२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारुलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मृतक संगिता र पक्राउ परेका अमिरिका सँगै मजदुरी गर्थे। घटना भएको दिन दुवैजनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगितालाई यौन प्रस्ताव राखेका थिए। संगिताले यौन प्रस्ताव अस्वीकार गरेपछि ढुंगाले हानेर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। आरोपी अमिरिकाले पनि प्रहरीसामु उक्त कुरा स्वीकार गरेका छन्।
संगिता र राकेशको हत्या घटनालाई मात्र हेर्ने हो भनेपनि पछिल्लो समय भईरहेका हत्याका घटना परिवार र चिनजानका व्यक्तिबाटै हुने गरेको देखिएको छ। प्रहरीका अनुसार ११ वटा हत्या घटना मध्ये १० वटा घटनामा संलग्न १२ जना पक्राउ परिसकेका छन्।
राकेशको हत्यामा संलग्न भने पक्राउ पर्न सकेका छैनन्। प्रहरी प्रवक्ता कार्की सामान्य विवादका घटनाप्रति वेवास्ता गर्ने र प्रहरीसम्म नल्याउने गर्दा हत्याजस्तो जघन्य अपराध सम्म पुग्ने गरेको बताउँछन्।